क्यान्सरले मेरो ‘इगो’ मार्‍याे, मलाई मारेनः मनिषा कोइराला

दिपक के श्रेष्ठः बलिउडकी सफल अभिनेत्री मनिषा कोइराला बिहीबार पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा आफ्नो जीवनगाथा सुनाउन उपस्थित भएकी छिन् ।

फेस्टिभलको दोस्रो सेशनमा सहजकर्ता विजयकुमारसँग ‘अलिअलि हार हो, अलिअलि जित’ माउनले जीवनको अनगिन्ती पाटालाई सहभागी, स्रोतासमक्ष खोलिन् । विपि कोइरालाको कृति तीन घुम्तीलाई कोट्याउँदै विजयकुमारले मनिषाको जीवनका घुम्तीबारे जिज्ञासा राखेका थिए ।

जिज्ञासाको जवाफमा कोइरालाले आफ्नो जीवनमा ३ महत्वपुर्ण घुम्ती रहेको सुनाइन् । ‘मेरो पहिलो घुम्ती वा टर्निङ प्वाइन्ट भनेको फिल्मी दुनियाँमा आउनु हो’ उनले भनिन् ‘दोस्रो घुम्ती क्यान्सको कहर ।’

तेस्रो घुम्तीभने क्यान्सरलाई जितेर पुनः जीवनको यात्रालाई फिल्म, दर्शन, राजनीति र आध्यात्मतर्फ डो¥याउनु रहेको उनले बताइन् ।

अहिले ५४ वर्षको उमेरमा पनि बलिउडमा सफल रहनु र जीवन, जगतलाई मिहिनरुपमा बुझ्ने प्रयासमा लाग्नुलाई उनले तेस्रो घुम्तीसँग जीवनको सुनौलो पल रहेको सुनाइन् ।

क्यान्सरको उपचारकाक्रममा न्यूयोर्कस्थित अस्पतालमा रहँदाको पीडा र एक्लोपनलाई सम्झेर उनी निराश सुनिइन् । ‘मेरा आफ्ना भन्नु त्यो क्षणमा कोही थिएनन्, अस्पतालको बेडमा म नितान्त एक्लो जीवन र मृत्युको लडाइ लडिरहेको थिए’ उनले सुनाइन् ।

त्यसबखत एक चिकित्सकले दिएको समय सम्झेर उनी भावुक भएकी थिइन् । उनले भनिन् ‘तपाइहरुले पनि कसैको एक्लोपनलाई साथ दिनु कोशिस गर्नुहोला ।’

क्यान्सरलाई जितेर नयाँ जीवन पाएपछि उनले पाएको ज्ञानबारे सुनाएकी छिन् ‘क्यान्सरले मेरा इगोलाई मारिदियो, मलाई मारेन ।’

कुराकानीकै दौरान प्रेमलक्षित प्रश्नमा कोइरालाको जवाफ छ ‘प्रेम दिने हो, लिने कुरा हैन रहेछ ।’

Exit mobile version