नयाँलिपिः सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं सँस्करणमा केन्याली धावकहरुले बर्चश्व जमाएका छन् ।
पोखरा रंगशालाबाट सुरु र अन्त्य भएको म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुईयोटले जिते । उनले ४२.२९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २१ सेकेण्डमा पूरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे ।
त्यस्तै, मात्र २ सेकेन्डले पछि परेका केन्याकै अर्का धावक जुलियस मुरियुकीले २ घण्टा १७ मिनेट २३ सेकेण्डमा दौड पूरा गरे । जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे ।
तेस्रो स्थान पनि केन्याकै धावकका नाममा रह्यो । धावक ओनेसमस गिटायुले २ घण्टा १८ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे ।
नेपालका किरणसिंह बोगटीलेले २ घण्टा ३८ मिनेट १७ सकेण्ड पूरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।
आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले यो वर्षदेखि उक्त विधामा गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको थियो ।
म्याराथनमा निरोज भट्ट क्षेत्री गण्डकी प्रदेशमा पहिलो, रिखुलाल सिंजालीमगर प्रदेश दोस्रो र दिनेश सिंह बोगटी तृतीय बने । उनीहरु क्रममा पोखरा म्याराथनमा पाचौं, छैटौं र सातौं स्थानमा आएका थिए ।
हाफ म्याराथन पुरुषतर्फ सन्तोषविक्रम बिष्टले पहिलो बने । उनले निर्धारित २१.०९७ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ७ सकेण्डमा पुरा गरे ।
गजेन्द्र राई दोस्रो र इमानियोल किप्टारबेई तेस्रो भए । यही बिधामा महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घण्टा २० मिनेट ३ सकेण्डमा पुरा गर्दै प्रथम बनीन् । स्यारोन जनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो भएकी थिइन् ।
म्याराथनको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका थिए । दर्ता भएका ३ हजार भन्दा बढि र ‘रन फर फन’मा गरी १० हजार भन्दा बढिले दौडमा सहभागिता जनाएका थिए ।