क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक–एक स्वर्ण

-


     नयाँ लिपि    
     असाेज ३० गते २०७९ मा प्रकाशित


पोखरा, ३० असोज ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । पोखराको रानीबनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

त्यस्तै उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन् । त्यसैगरि १ घण्टा २० मिनेट ०४ सेकेण्डमा दुरी पुरा गर्दै एपिएफकी हुमी बुढामगरले कास्य जित्न सफल भइन् ।

आजै भएको पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । १९ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल भएका छन् ।

त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घण्टा ११ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि १ घण्टा १३ मिनेट २५ सेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।

सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छभने रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८-८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।