कराँतेका गण्डकी र आर्मीलाई ३÷३ स्वर्ण

-


     नयाँ लिपि    
     असाेज ३० गते २०७९ मा प्रकाशित


नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान ३ स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा १ स्वर्ण जितेको हो ।

नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुष समूहमा स्वर्ण जितेको छ । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए ।

पुरुषतर्फकै ६०—६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरे । भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पाए ।
पुरुषतर्फकै ५०—५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । ४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने वागमतीका राईले रजतमा चित्त बुझाए ।

४०—४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।
महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीकी मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले वागतमी प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । ५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । ४५—५० केजी तौल समूहमा वागमती प्रदेशकी नविना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् ।

महिलातर्फको ३५—४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घन्टा सबै प्रतिष्पर्धा रोकिएका थिए ।
पोखराको प्रदर्शनी केन्द्रमा भएको खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको थियो ।