‘३२ खेलका लागि ५८ लाखले पुग्दैन, बजेट यस्तै रहे दसैँतिर राजीनामा दिन्छु’: सदस्य–सचिव शर्मा
सुरज श्रेष्ठ, पोखरा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा गण्डकी प्रदेशलाई पदकको तयारीसँगै बजेट व्यवस्थापनको चुनौती देखिएको छ । नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीलाई पदक दिलाएका केही महत्वपूर्ण खेल दशौँको खेल सूचीबाट बाहिरिएका छन् भने समावेश भएका ३२ खेलमा प्रभावकारी सहभागिताका लागि आवश्यक बजेटसमेत पर्याप्त नभएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्माले बताएका छन् ।
शर्माका अनुसार ३२ वटा खेलमा गण्डकीको प्रभावकारी सहभागिताका लागि करिब ५ देखि ६ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ । तर प्रदेश सरकार र केन्द्रबाट गरी करिब ५८/५९ लाख रुपैयाँ मात्र उपलब्ध हुने अवस्था रहेकाले त्यसबाट राष्ट्रिय प्रतियोगिताको प्रभावकारी तयारी गर्न कठिन हुने उनको भनाइ छ ।
‘३२ वटा खेलका लागि करिब ५ देखि ६ करोडसम्म खर्च लाग्ने अनुमान छ । प्रदेश सरकारले ९ लाखको हाराहारी र केन्द्रबाट ५० लाख जम्मा गरेर ५८/५९ लाखले ३२ वटा खेल खेलाउन यो रकम पर्याप्त छैन,’ शर्माले भने, ‘यदि बजेट यतिमै सीमित राख्ने हो भने म दसैँको आसपासमा राजीनामा दिन्छु ।’
उनका अनुसार पर्याप्त बजेट नहुँदा खेलाडीलाई आवश्यक प्रशिक्षण, खेल सामग्री र अन्य तयारी गराएर राष्ट्रिय प्रतियोगितामा पठाउन कठिन हुन्छ । ‘खेलाडीहरूलाई ट्र्याक, जुत्ता र गाडी भाडा दिएर खेल्न गएर आउ भन्नेसम्म गर्ने हो भने छुट्टै कुरा हो । यसो गर्ने हो भने पदकको आशा नगर्दा पनि भो,’ शर्माले भने ।
पदकका लागि प्रतिस्पर्धा गर्ने उद्देश्यसहित खेलाडीको तयारी, प्रशिक्षण र व्यवस्थापन गर्न अहिलेको बजेट पर्याप्त नभएको उनले स्पष्ट पारे । ‘यदि राम्रै गर्ने हो भने यो रकम पर्याप्त होइन,’ उनले भने ।
शर्माले गण्डकीलाई अघिल्लो राष्ट्रिय खेलकुदमा पदक दिलाएका खेलहरूलाई पुनः समावेश गराउनसमेत प्रदेशले पहल गरिरहेको बताए । उनका अनुसार पदकको सम्भावना भएका खेलहरू दशौँ राष्ट्रिय खेलकुदको सूचीमा समावेश गराउन सम्बन्धित निकायसँग पहल भइरहेको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ वटा खेल विधा समावेश गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदमा ३६ प्रतिस्पर्धात्मक खेल र दुई प्रदर्शन खेल गरी कुल ३८ खेल विधा समावेश थिए । दशौँमा अघिल्लो संस्करणमा रहेका केही खेल हटाइएका छन् भने ई–स्पोट्र्सलाई नयाँ खेलका रूपमा समावेश गरिएको छ ।
दशौँ राष्ट्रिय खेलकुदमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फुटबल, फुल कन्ट्याक्ट कराते, जिम्न्यास्टिक्स, ह्यान्डबल, हक्की, आईटीएफ तेक्वान्दो, जुडो, कबड्डी, कराते, खोखो, रग्बी सेभेन ए साइड, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, सेपाकताक्रो र ई–स्पोट्र्स समावेश छन् ।
नवौँ राष्ट्रिय खेलकुदमा समावेश प्याराग्लाइडिङ, फेन्सिङ, गल्फ, सफ्ट टेनिस र ट्रायथलन भने हाल सार्वजनिक दशौँको खेल सूचीमा छैनन् । नवौँमा यीमध्ये प्याराग्लाइडिङ, फेन्सिङ, गल्फ र सफ्ट टेनिसबाट गण्डकीले पदक जितेको थियो । यी खेल कटअफ हुदाँ गण्डकीको पदक समीकरणमा असर पर्ने देखिएको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ कांस्य गरी कुल १२१ पदक जितेको थियो । समग्र पदक तालिकामा चौथो भए पनि प्रदेशतर्फ गण्डकी पहिलो भएको थियो । प्याराग्लाइडिङमा मात्रै गण्डकीले तीन स्वर्णसहित पाँच पदक जितेको थियो भने फेन्सिङ, गल्फ र सफ्ट टेनिसबाट समेत पदक हात पारेको थियो ।
यसपटक अघिल्लो संस्करणमा पदक दिलाएका खेलहरू नै सूचीबाट बाहिरिएपछि गण्डकीको पदक सम्भावनालाई लिएर चिन्ता थपिएको छ । त्यसमाथि समावेश भएका खेलमा पनि पर्याप्त तयारीका लागि बजेट नहुँदा प्रदेशले कस्तो तयारी गर्ने भन्ने प्रश्न उठेको छ ।
दशौँ राष्ट्रिय खेलकुदमा नयाँ खेलका रूपमा ई–स्पोट्र्स थपिए पनि गण्डकीमा भने यसको तयारीसमेत अन्योलपूर्ण देखिएको छ । गण्डकी प्रदेशको ई–स्पोट्र्ससँग सम्बन्धित तदर्थ समितिका अध्यक्ष विनोद बरालसँग दशौँ राष्ट्रिय खेलकुदमा ई–स्पोट्र्स समावेश भएको विषयमा जानकारी लिँदा उनले आफू नै संस्थाको पछिल्लो गतिविधिबारे स्पष्ट जानकार नरहेको बताएका थिए ।
ई–स्पोट्र्समा सक्रिय रहेका स्वयम्भु कुँवरले पनि आफू संस्थामा कुन पद वा जिम्मेवारीमा रहेको भन्ने स्पष्ट नभएको बताए । दशौँ राष्ट्रिय खेलकुदमा ई–स्पोट्र्स समावेश भएको जानकारी आफूलाई भए पनि संस्थाको संरचना, खेलाडी छनोट र प्रतियोगिताको तयारीबारे आफू जानकार नरहेको उनको भनाइ थियो ।
राष्ट्रिय प्रतियोगितामा नयाँ खेल समावेश भए पनि प्रदेश तहमा खेलाडी कसरी छनोट गर्ने, प्रशिक्षण कसरी सञ्चालन गर्ने र गण्डकीको प्रतिनिधित्व कसले व्यवस्थापन गर्ने भन्ने विषयमा सम्बन्धित व्यक्तिहरूबाटै स्पष्ट जवाफ आउन नसक्नुले ई–स्पोट्र्सको तयारीमाथि प्रश्न खडा गरेको छ । प्रदेश तहमा संरचना र जिम्मेवारीबारे रहेको अन्योलले दशौँ राष्ट्रिय खेलकुदमा गण्डकीको ई–स्पोट्र्स तयारीलाई थप चुनौतीपूर्ण बनाएको छ ।
यसैबीच नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीलाई पदक दिलाएको फेन्सिङ्ग पुनः समावेश हुन सक्ने सम्भावनाको चर्चा छ । गण्डकी प्रदेश फेन्सिङ्ग संघका अध्यक्ष विजय शाहीले फेन्सिङ्ग दशौँ राष्ट्रिय खेलकुदमा समावेश हुन सक्ने संकेत गरेका छन् । फेन्सिङ्ग पुनः समावेश भएमा नवौँमा चार कांस्य पदक जितेको गण्डकीले उक्त खेलबाट फेरि पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।
गण्डकी प्रदेश प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ संघका अध्यक्ष भरतप्रसाद तिमिल्सिनाले भने दशौँ राष्ट्रिय खेलकुदबाट प्याराग्लाइडिङ हटाइनु दुःखद भएको बताएका छन् ।
‘दशौँ राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ हट्नु दुःखको कुरा हो,’ तिमिल्सिनाले भने, ‘हाम्रा खेलाडीहरूलाई तयारी गरिरहेका छौँ ।’
नवौँ राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको दुर्घटनामा परी निधन भएको थियो । सराङकोटमा क्रसकन्ट्री प्याराग्लाइडिङमा प्रतिस्पर्धाका क्रममा दुर्घटनामा परेका २६ वर्षीय निसिमको निधनपछि प्रतियोगिता रोकिएको थियो । पछि अभ्यास खेलको नतिजालाई आधार मानेर पदकको टुंगो लगाइएको थियो ।
२०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुद पोखरालाई मुख्य केन्द्र बनाएर गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा गण्डकीले ३२ स्वर्ण,३१ रजत र ५८ कास्य गरि १२१ पदक जितेको थियो ।
अब दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुँदैछ । खेल संख्या घटेर ३२ मा सीमित हुनु, अघिल्लो संस्करणमा गण्डकीलाई पदक दिलाएका खेलहरू हट्नु, नयाँ खेलका रूपमा ई–स्पोट्र्स थपिए पनि प्रदेशमा त्यसको तयारी स्पष्ट नहुनु र पर्याप्त बजेटको अभाव देखिनुले गण्डकीको तयारी चुनौतीपूर्ण बनेको छ ।
प्रदेश खेलकुद परिषद्ले प्रभावकारी तयारीका लागि ५ देखि ६ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको अवस्थामा करिब ५८/५९ लाख रुपैयाँको बजेटमा ३२ खेलमा सहभागिता जनाउनुपर्ने अवस्था छ । सदस्य–सचिव शर्माले पर्याप्त स्रोतबिना सहभागिता मात्र जनाएर राष्ट्रिय प्रतियोगितामा पदकको अपेक्षा गर्न नसकिने बताएका छन् । उनले खेलाडीको प्रशिक्षण, खेल सामग्री, यातायात तथा अन्य आवश्यक तयारीका लागि पर्याप्त बजेट सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
दशौँ राष्ट्रिय खेलकुदका लागि गखेपले दिएको नाम लिस्टमा गण्डकी प्रदेशबाट ३४४ पुरुष र ३१२ महिला गरी कुल ६५६ जना खेलाडी रहेका छन ।तस्विरः एआई जेनेरेटेड







