पोखरा प्रज्ञा प्रतिष्ठानले यही असोज १० गते आयोजना गर्न लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम प्रतिकूल मौसमका कारण स्थगित गरेको छ।
प्रतिष्ठानले शुक्रबार जारी गरेको सूचनामा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गलको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण अतिवृष्टि हुन गई बाढीपहिरोको उच्च जोखिम उत्पन्न हुन सक्ने प्रक्षेपण गरेकाले कार्यक्रम स्थगित गरिएको जनाएको छ।
पोखरा ‘रेड अलर्ट’ जोनमा परेको अवस्थालाई समेत ध्यानमा राख्दै कार्यक्रमस्थलमा आउने कलाकार, अतिथि तथा दर्शकको सुरक्षा र कार्यक्रमलाई सुव्यवस्थित एवं गरिमापूर्ण ढङ्गले सम्पन्न गर्ने विषयलाई प्राथमिकता दिँदै तत्कालका लागि कार्यक्रम स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाद्वारा जारी सूचनामा स्थगित गरिएको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम असोज २५ गते घटस्थापनाको दिन थप व्यवस्थित र प्रभावकारी रूपमा आयोजना गरिने उल्लेख छ।
कार्यक्रम स्थगित हुँदा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै प्रतिष्ठानले सबैको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरेको छ। साथै सम्भावित मौसमजन्य प्रतिकूलताबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।







