पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिटको तयारी पूरा

-


     नयाँ लिपि    
     असाेज ३० गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनका संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एक ठाउँमा ल्याउन विशेष कार्यक्रम गरिने भएको छ । सोमबार स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबीच छलफल र सम्भावनाको खोजी हुँदै छ ।

पर्यटन र आतिथ्य क्षेत्रका संघ, संस्था, रोजगारी प्रदायक र शैक्षिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर त्यसका समस्या पहिचान गर्ने र सम्भावना खोज्ने उद्देश्यले मिट आयोजना गरिएको हो ।
कार्यक्रममा प्राडा रमेशराज कुँवरले नेपालको पर्यटन हिजो, आज र भोलि शीर्षकमा प्रस्तुति राख्ने छन् । नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावनालाई सार्थक बनाउने उपायबारे प्रस्तुति राख्ने छन् ।

जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा हुने मिटको सहआयोजकमा पोखरा पर्यटन परिषद् छ । यो कार्यक्रमलाई पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन पोखरा, पर्यटन मन्त्रालयल गण्डकी प्रदेशले सघाएका छन् ।

समारोहमा बिएमटिएमका विद्यार्थी सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन् । समारोहमा जनप्रियले स्वायत्त कार्यक्रमका रुपमा सञ्चालन गरिरहेका बिएमटिएम र एमबिए इन हस्पिटालिटी म्यानेजमेन्टबारे प्रकाश पारिनेछ । यी कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्ना अनुभव सहभागीलाई सुनाउने जनप्रियका क्याम्पस प्रमुख लोकराज भण्डारीले जानकारी दिए ।

यो कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका प्लस टु सकेका करिब साढे २ सय विद्यार्थी, विद्यालय, क्याम्पस सञ्चालक र विज्ञ गरी ३ सय बढीको सहभागिता रहने क्याम्पप प्रमुख भण्डारीले बताए । कार्यक्रममा गण्डकी प्रदेशमा पर्यटन र अतिथ्यता शिक्षाको अहिलेको अवस्था र सम्भावनाबारे छलफल हुने तय छ । यो प्यानल छलफलमा डा रामजी शर्मा, नेपाल पर्यटन परिषद गण्डकीका काशिराज भण्डारी, बाराही ग्रुप अफ हस्पिटालिटीका कार्यकारी निर्देशक वैभव पौडेल र पोखरा ग्रान्डका जेनेरल म्यानेजर पञ्चम लामा सहभागी हुने छन् ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानोर्बु शेर्पाले नेपालको पर्वतीय पर्यटनबारे भनाइ राख्ने छन् । जनप्रियले प्रकाशन गर्दै आएको जर्नल अफ टुरिजम एन्ड एड्भेन्चरको सातौं अंक पनि सोही समारोहमा सार्वजनिक गरिनेछ । कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरले पर्यटन प्रवद्र्धनका लागि गरेका प्रयास र महानगरका यो क्षेत्रका कार्यक्रमबारे प्रकाश पार्ने आयोजकले जनाएको छ ।