रविमाथिको राजनीतिक प्रतिशोधविरुद्ध कानूनी उपचार खोज्छौंः वाग्ले

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको निलम्वन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको आरोप लगाए ।

संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै उनले रास्वपाले यसको कानूनी निदान खोज्ने बताए । उनले विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्वीकार्ने, खिसिट्युरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गरे । उनले आफूहरुले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्वन फुकुवा नगरे सदन चल्न नदिने संकेत गरे ।

वाग्लेकाे भनाइ:

“विश्वमा नै नयाँ शक्तिहरुलाई बेवास्ता गर्ने, खिसिट्युरी गर्ने, आक्रमण गर्ने र अस्तित्व स्वीकार्ने चरणहरु हुँदा रहेछन् । हामी अहिले आक्रमणको चरणबाट गुज्रिरहेको महसुश भएको छ । तर चौथो चरण चाँडै नै आउँछ । त्यो भनेको अस्तित्वको स्वीकार्यता, प्रवेश । तेस्रो चरणबाट चौथो चरणमा जानेमा हामी पुर्ण विश्वस्त छौं । यस सम्मानित सदनमा आज एउटा विशेष अनुपस्थिति छ ।

नेपालको संसदीय इतिहासमा ५० हजार मतको हारहारीमा दुई÷दुई पटक विजयी भएका चितवन क्षेत्र नं २ का सांसद, हाम्रो पार्टीका सभापति माननीय रवि लामिछाने यहाँ उपस्थित हुनुहुन्न आज । २०६४ सालमा ल्याइएको सम्पती शुद्धीकरण ऐनको दफा २७ मा टेकेर मुद्दा दायर हुनासाथ सबै राष्ट्रसेवकलाई निलम्बन हुने प्रावधानमा टेकेर यस्तो निर्णय गरिएको छ ।

हामीले नै बनाएको संविधानको बेवास्ता गर्दै उहाँलाई निलम्वित गरिएको छ । त्यसको कानूनी उपचार हामी खोज्छौं । आज शिष्टता र भद्रताका लागि पनि सम्माननीय सभामुखलाई निलम्वन प्रति आपत्ति छ, त्यसलाई फुकुवा गरिदिनुस् भनेर हामीले आग्रह गरेका छौं । तर हामी त्यसको कानूनी निदान खोल्ने क्रममा नै अगाडि गइरहेका छौं ।

रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छ । अदालतको विचाराधिन विषयमा म बोल्नुहुँदैन । म बोल्दिन । तत्कालीन राजाले बनाएको शाही आयोगको तार्गेटमा पर्नुभएका कतिपय नेताहरु आज पनि सक्रिय राजनीतिमा हुनुहुन्छ । नाम चलेका सबै नेताहरुलाई खोरमा हाल्ने तत्कालिन शाही आयोगलाई अदालतले खारेज गरेको त्यो न्यायिक साहस, त्यो आँटको अभ्यास भएको देश हो यो ।”

 

Exit mobile version