विश्व शान्तिको कामना गर्दै ‘राष्ट्रप्रेमी’, झण्डापार्कमा दीप प्रज्वलन

नयाँलिपिः ‘पृथ्वी हाम्रो घर हो’ भन्ने मुल नाराका साथ विश्व शान्तिको कामना गर्दै राष्ट्रप्रेमी युवा पोखराले आज पोखरामा सन्ध्याकालीन कार्यक्रमको आयोजना गरेको छ ।

पोखराको महेन्द्रपुलस्थित अन्तराष्ट्रिय झण्डा पार्कमा आयोजना गरिएको कार्यक्रममा युवाहरूले दिप प्रज्वलन गरी विश्वमा घटिरहेका प्राकृतिक विपद र त्यसबाट पुगेको मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणको कामना गरे।

विश्वमा भएका विविधखाले विपदबाट ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विस्थापित र अङ्गभङ्गप्रतित सहानुभूतिसमेत प्रकट गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं अभियानका सदस्य उत्तमप्रसाद पौडेलले विश्वको हरेक घटनाले सबैलाई उत्तिकै पीडा दिने भन्दै शोक मन्तव्य राखेका थिए।

‘हामी ग्लोबल सिटिजन भएका छौं, देशभित्र भएको विपदले पिरोल्छ नै अमेरिकामा भएको आगलागीबाट भएको जनधनको क्षतिले पनि उत्तिकै दुखाउँछ’ पौडेलले भने ‘युक्रेन–रुस र इजरायल–हमासबीच पनि छिट्टै शान्तिवार्ता भएको सुन्न हतारिएका छौं ।’

‘बुद्धको भूमिबाट युद्धको अन्त्य होस्’ भन्ने कामना गरिएको कार्यक्रमको संयोजन राष्ट्रप्रेमी युवाका संयोजक देवेन्द्रराज सुवेदी र सहसंयोजक सुदिप शर्मा पौडेल एवं दीपकबहादुर गोदारले गरेका थिए ।

साथै, इजरायल र हमास युद्धमा युद्धबन्दी बन्न पुगेका नेपाली युवा विपिन जोशीको सफल उद्धारको समेत कामना गरिएको छ ।

बज्रराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थिति थियो । मेयर आचार्य शोक एवं शान्तिसभाका परिकल्पनाकार हुन् ।

Exit mobile version