पोउवा र बीपीसीको सहकार्यमा उद्यमशीलताको खोजी

नयाँलिपिः पोखरा उद्योग वाणिज्य संघले तथा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी)को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरिएको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको सम्भावनाको समेत खोजी गर्ने उद्देश्यले मादी गाउँपालिका–३, याङ्जाकोटमा आयोजित कार्यशालाको वडाध्यक्ष विकास गुरुङले उद्घाटन गरे ।

उद्घाट्नको क्रममा बोल्दै उनले व्यवसाय गर्नु भनेको नाफाको सपनामात्र नभएर सम्भावित नोक्सान सहनुसमेत भएको बताउँदै लगानी गर्नेलाई राज्यबाट विशेष सुविधा दिनुपर्ने बताए ।

‘लगानी गर्दा घाटा पनि हुनसक्छ । व्यवसाय गर्नेले लगानी गर्छ, त्यो लगानीको सुरक्षाको लागि राज्यले विशेष वातावरण बनाइदिनुपर्छ,’उनले भने,‘उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना हुने खालका उद्योग÷व्यवसाय गर्नेहरुलाई प्रोत्साहित गर्नु नै राज्यको कर्तव्य हो ।

मादी गाउँपालिकाले पर्यटन प्रवद्र्धनसँगै पूर्वाधार निर्माण र एवं ग्रामीण उत्पादनको बजारीकरणको लागि काम गरिरहेको बताउँदै उनले सो क्षेत्रमा उत्पादित बस्तुको बजारीकरणमा पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने बताए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यम गर्नु भनेको आफू आत्मनिर्भर हुनुमात्र नभएर रोजगारी सिर्जना गर्नु तथा देशको अर्थतन्त्रलाई टेवा दिनु भएकोले राज्यले व्यावसायिक वातावरण निर्माणको लागि योजनावद्ध काम गर्नुपर्ने बताए ।

उद्योग/व्यवसाय गर्ने वातारण निर्माण गर्नु राज्यको दायित्व भएको भन्ने वडाध्यक्ष गुरुङको भनाइमा सही थप्दै अध्यक्ष कार्कीले भने, ‘आयातमुखी अर्थतन्त्रलाई सुरुमा निर्वाहमुखी र पछि निर्यातमुखी बनाउनको लागि योजनाबद्ध रुपले काम गर्नुपर्छ । गाउँमा उत्पादित कृषिजन्य बस्तुको बजारीकरणमा सहयोग गर्नुपर्छ । यो अभियानमा पोउवा संघ पालिका एवं महानगरसँग सहकार्य गर्न तयार छ ।’

अभिमुखीकरण कार्यक्रमका प्रमुख प्रशिक्षक आरसी लामिछानेले राज्यका नीतिहरुबारे जानकारी राख्दै उत्पादकत्व बढाउने खालका इलम गर्नको लागि इच्छा र नयाँ सोच जरुरी रहेको बताए । उनले अर्काको देखासिकी गरेर हैन कि योजना बनाएरै व्यवसाय गर्दामात्र सफलता हात लाग्छ भन्ने कुुरा बुझन् व्यवसायीसँग आग्रह पनि गरे ।

व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले देशका पालिकामध्ये पहिलोपटक महानगरले व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् निजी क्षेत्रका समस्या समाधान, उद्यमशिलता विकास र रोजागारीको लागि नयाँ कामहरु गरिरहेको चर्चा नयाँ सोचसहित उद्योग/व्यवसाय गर्नेलाई महानगरले आर्थिक र प्राविधिक सहयोग गर्ने जानकारी दिए ।

 

Exit mobile version