यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

एजेन्सी । आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई ९ रनले पराजित गरेको हो ।

मलेसियामा आज (सोमबार) भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९.१ ओभरमा एक सय रनमै समेटियो ।

नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए ।वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले २/२ विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले १/१ विकेट लिइन् । नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ ।

Exit mobile version