नयाँलिपिः सहारा क्लब पोखराले आगामी माघको २२ देखि फागुन ३ सम्म आयोजना गर्न लागेको २४ औं संस्करणको ‘आहा रारा गोल्डकप फुटबल’ प्रतियोगिताले जयश्री फुड्सको साथ पाएको छ ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रमबीच सहारा क्लबका अध्यक्ष केशवराज बराल र जयश्रीका जनरल म्यानेजर अमित अग्रवालबीच भएको सम्झौतामा जयश्रीले क्लबलाई ५ लाख रुपैयाँ प्रदान गरी प्रतियोगिताको सह–प्रायोजक भएको छ ।
मोफसलकै चर्चित फुटबल प्रतियोगितामा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै जयश्रीका जनरल म्यानेजर अग्रवालले सामाजिक दायित्व पुरा गर्ने लक्ष्यअनुरुप खेलक्षेत्रमा जोडिएको बताए ।
‘सह–प्रायोजक हुन पाएकोमा खुशी लागेको छ’ अग्रवालले भने ‘यसबाट व्यावसायिक र खेल दुबै क्षेत्रलाई लाभ हुने अपेक्षा गरेको छु ।’
अग्रवालका अनुसार जयश्रीको उत्पादन भान्सा घर चामल प्रतियोगिताको सहप्रायोजककारुपमा देखिनेछ ।
प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहने क्लवबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । जसमा संकटा क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन
आर्मी, एनआरटी, चर्च ब्वाइज, मछिन्द्र क्लब, नेपाल एपिएफ, थ्रिस्टार क्लव र आयोजक साहारा क्लब रहेका छन् ।
त्यस्तै, बेलायतको दुर्गेस ब्वाइज फुटबल क्लब आउने पक्कापक्की भएको र अन्य २ टोलीको छिटै टुंगो लाग्नेछ ।
क्लबले पोखराको दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरिरहेको छ । जहाँ ३० बालक रहेका छन् । जसको शिक्षा, आवास र फुटबल प्रशिक्षणको दायित्व क्लबले लिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकभने हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ रहेको छ ।
तस्बिरः सुदर्शन रञ्जित