एजेन्सी । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।
साँझ ७ बजेसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार भूकम्पका कारण कम्तीमा १ सय ८८ जना घाइते भएका छन् ।
बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको क्षमता ६.८ म्याग्नीच्युड रहेको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ ।