नयाँलिपिः पोखरामा रहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुनः अध्यक्षमा चयन भएपछि पवन प्रजापतिले टेलिभिजन भुइँमान्छेको आवाजकारुपमा अझ सशक्तरुपमा अघि बढ्ने बताएका छन् ।
टेलिभिजनको लगानीकर्ता कार्यसमितिको टिम भएपनि यसको स्वामित्व नागरिक र समाज भएको उनको भनाई छ । ‘टिभी हाम्रो हो तर यसको स्वामित्वमा समाजमा छ’ प्रजापतिले भने ‘सिंगो समाजको आवाजलाई मुखरित गर्ने माध्यम भएकाले हामी सामाजिक उत्तरदायित्वलाई आफ्नो लक्ष्य ठान्छौं ।’ टेलिभिजन दिनानुदिन लोकप्रिय भइरहेको बताउँदै उनले आफुलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेकोमा कार्यसमितिलाई धन्यवाद व्यक्त गरे ।
कार्यसमितिको उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेललाई सर्वसम्मत चयन भएका छन् । सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानाङ्ग, सुस्मा थापा पाण्डे, सन्तोषमार श्रेष्ठ, वसन्त केसी र टिना थापा रहेका छन् । नेतृत्व चयनमा अधिवक्ता बिबि बिष्टसंयोजक रहेको निर्वाचन समिति निर्माण गरिएको थियो ।
सोही अवसरमा उपाध्यक्ष चिनु गुरुङले सबैको हित र आम नागरिकको पक्षमा वकालत गर्न स्थापना गरिएको सिटीवानले विविध क्षेत्रका आवाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राखिन् । उनले यस्तो विकराल अवस्थामा पनि टेलिभिजनले लक्ष्य अनुसारको नाफा आर्जन गर्न सकेकोमा सबैलाई धन्यवाद दिदैँ यो वर्ष अझ धेरै काम गर्न सबैसँग सहकार्यका लागि अनुरोध गरिन् ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको थियो । कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक तथा सेयर सदस्य अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रकृया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाबारे जानकारी गराएकी थिइन् ।
स्टार नेपाल मिडिया हब प्रालिद्वारा सञ्चालित सिटीवान टेलिभिजन गण्डकी प्रदेशलाई आधार मान्दै सञ्चालित छ । ०७७ सालमा स्थापित टेलिभिजनले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार, पर्यटन र व्यवसायलाई मुख्य विषयवस्तु बनाउने गरेको छ ।
देशैभरका सबै डिजिटल सेवा प्रदायक नेटवर्कबाट प्रसारित टेलिभिजन बिहान ५ देखी राती ११ बजेसम्म नियमित प्रसारण भइरहेको छ ।