रविविरुद्ध आज कास्की अदालतमा मुद्दा दायर हुँदै

नयाँलिपिः दुई महिना देखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विरुद्ध प्रहरीले आज कास्की जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पूरक अभियोगपत्र दायर हुन लागेको हो । प्रहरीले एक अर्ब ५१ करोड बिगो कायम गरी लामिछाने सहित ५१ जना विरुद्ध मुद्दा चलाउन गत सोमबार राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा चलाउन लागेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी व्यवस्था छ । सो मुद्दाका आरोपी मध्ये एक पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुग्ने भएकाले मुद्दा दायर गर्न लागिएको हो ।

लामिछाने सहकारीमा प्रत्यक्ष संलग्न नभएपनि गोर्खा मिडियामा गएको सहकारीको पैसा खर्च गर्नेमा उनको समेत भूमिका रहेको भन्दै पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो । रा।स्व।पा।ले भने राजनीतिक प्रतिशोधका आधारमा लामिछाने विरुद्ध मुद्दा चलाउन लागिएको भन्दै विरोध गर्दै आएको छ ।

Exit mobile version