नयाँलिपिः त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ, केन्द्रिय समितिको आव्हानमा देशभरका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
विश्वविद्यालयमा वर्षाैदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारमा रहेका कर्मचारीलाई तुरुन्त स्थायी गर्नुपर्ने उनीहरुको माग छ ।
केन्द्रिय समितिको निर्णय अनुसार पश्चिमाञ्चलकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा पनि कर्मचारीहरुले आन्दोलनको खाकाअनुसार धर्ना तथा जागरण कार्यक्रम सुरु गरेका छन् । क्याम्पस कर्मचारी संघ इकाइका अध्यक्ष धनबहादुर गुरुङले दिउँसो १ देखि २ बजेसम्म धर्ना कार्यक्रम रहेको बताए ।
पुसको २ गतेदेखि सुरु भएको धर्ना र जागरणको आज अन्तिम दिन हो । आजसम्म दिइएको अल्टिमेटममा सम्बन्धित निकायले बेवास्ता गरे आन्दोलनका थप कार्यक्रम आउने गुरुङले जनाए । केन्द्रीय समितिसँग छलफल गरी भावी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उनले उल्लेख गरे ।
समितिले स्वास्थ्य सेवा ऐन अनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तर वृद्धि गर्नुपर्ने, रिक्त दरबन्दीमा तुरुन्त विज्ञापन गर्नुपर्ने र लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको पदोन्नती गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै, सञ्चित विशेष तलबी बिदाको निवृत्त हुँदा पाउनु पर्ने, विगतमा खोसिएका सेवा सुविधा सुचारु गर्नुपर्नेलगायतका माग राखि कर्मचारीहरु असोजदेखि आन्दोलनरत छन् ।