नयाँलिपिः त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरामा आजदेखि ‘फेवा संवाद–२०२४’ सुरु भएको छ ।
उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले दुई विश्वविद्यालयको सहकार्यमा हुन लागेको बौद्धिक जगतको छलफलले समग्रमा विश्वले नै लाभ उठाउन सक्ने टिप्पणी गरेकी छिन् । ‘चिनियाँ प्रगतिको जति तारिफ गरेपनि कम हुन्छ’ भण्डारीले भनिन् ‘सोही विकासको लाभ दक्षिण एशियाली मुलुकले पनि लिनसक्नेतर्फ पक्कै बहस हुनेछ ।’
संवादमा सहभागी प्राज्ञिक र बौद्धिक वर्गबाट आउने सुझावले मुलुकको विविध क्षेत्र र सरकारलाई पक्कै फाइदन पु¥याउने भन्दै आयोजिक विश्वविद्यालय र नेपालस्थित चिनियाँ दूतावासलाईसमेत धन्यवाद व्यक्त गरिन् ।
दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक फेवा संवादको आयोजना गरिएको हो । संवाद मुलतः विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यहरुमा केन्द्रीय हुनेछ ।
संवादमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३-३ जना, भुटान, मलेसिया, सिंगापुर, इण्डोनेसिया लगायतका देशवाट सहभागी छन् ।
उद्घानसत्रपश्चात्का अन्य कार्यक्रम लेकसाइडस्ति होटल बाराहीमा हुनेछ ।
विभिन्न शीर्षकमा हुने बहस र छलफलमा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली राष्ट्रका विज्ञहरुले आफ्ना धारणा राख्नेछन् भने त्यसउपर थप छलफल र सुझाव समटिनेछ ।
फेवा संवाद पोखरामा आयोजना भएको आजसम्मकै बृहद् र बौद्धिक अन्तर्राष्ट्रिय सम्मेलन हो ।