‘माटोले श्वास फेर्छ, उपचार नगरे मर्छ’ –माटो विज्ञ पाण्डे

दिपक के श्रेष्ठः

के माटोले पनि श्वास फेर्छ ? माटोमा पनि जीवन हुन्छ ? माटो पनि मर्छ ? अनि माटोलाई बचाउँन उपचार गरिन्छ ?

प्रश्नको फेहरिस्त जवाफ दिँदै माटो विज्ञ सुनिल पाण्डे भन्छन्, ‘हो, माटोले श्वास फेर्छ, बिरामी हुन्छ र उपचार पनि गर्नुपर्छ ।’ पाण्डेका अनुसार माटो जीवित हुन्छ र मर्छ पनि । एकपटक मरिसकेको माटोलाई पूनर्जीवन दिन धेरै समय र खर्च लाग्ने पाण्डे बताउँछन् ।

माटो तथा मल परीक्षण प्रयोगशाला पोखरामा वरिष्ठ माटो विज्ञकारुपमा कार्यरत पाण्डेले परम्परागत खेतिपातिबाट बिस्तारै व्यावसायिक कृषितर्फ लाग्ने क्रम बढिरहे पनि सोही अनुसार कृषकहरुमा माटोसम्बन्धि ज्ञान नभएकोमा दुख व्यक्त गरे । उनका अनुसार ज्ञानको कमीले माटो मरुभूमि बन्दैछ, जसलाई पुरानै स्वरुपमा फर्काउन कठिन छ ।

थोरै जमिनमा धेरै उत्पादन लिन कृषकहरुले रासयनिक मलको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा ह्रास आउने गरेको विज्ञ पाण्डेको भनाई छ । हाइब्रिड र बेमौसमी खेती गर्दा माटो मर्दै गएको भन्दै पाण्डेले माटोको परीक्षण र उपचार अत्यावश्यक भएको सुझाए । ‘माटोबिना धर्तीमा जीवन छैन, यत्ति बुझिदिनु प¥यो’ उनको कथन छ ।

जनसंख्या वृद्धि र उच्च आयको लोभमा कृषकले कम्पोष्ट मलको कम प्रयोग गर्दा त्यसको असर मानव स्वास्थ्यमासमेत पर्दै गएको उनले जनाए । ‘माटोमा जस्तो तत्व छ त्यहाँबाट हुने उत्पादनमा सोही गुण हुन्छ’ पाण्डे भन्छन् ‘माटो अस्वस्थ वा दुषित छ भने त्यसले हाम्रो शरिरलाई दिने पनि त्यहि तत्व हो ।’

व्यावसयिक खेतीमा अत्यधिक मलखाद र माटोको गुण परीक्षण हुनैपर्ने उनको जिकिर छ । पाण्डेले भने ‘माटो कमसल भए उत्पादन कमसल हुन्छ, त्यसले शरिरलाई पोषण दिँदैन ।’ उनका अनुसार दिनानुदिन माटोमा अम्लीयपन बढिरहेको छ, जसको प्रमुख कारण स्वयं कृषक हुन् ।

प्रयोगशालाले हाल माटो परीक्षणार्थ घुम्ती सेवा सुरु गरेको र कृषकलाई सेवा दिन विभिन्न स्थान पुग्ने योजनाअनुरुप काम अघि बढाएको बताएको छ । जनचेतनाको अभावमा माटो परीक्षण हुन नसकेको भन्दै प्रयोगशालाले ल्याबसहितको बस प्रयोगमा ल्याएको छ ।

यद्यपि, माटो परीक्षणपछि त्यसको नतीजाअनुरुप कृषकलाई माटो उर्वर बनाउन दिइने सुझावको कार्यान्वयन भने हुन नसकेको पाण्डेले गुनासो गरे । ‘माटोमा चुनको प्रयोग, मलखादबाट बन्ने कम्पोष्ट मल, रासायनिक मल र अन्य प्राकृतिक उपाय सुझाउँछौ तर उहाँहरु ९कृषक०ले उपचार पद्दति अपनाउनु हुन्न’ पाण्डेको भनाई छ ।

त्यसो त कृषकहरुले माटो परीक्षणमा रुचि नदेखाएपनि प्रयोगशालाले यस वर्षमात्रै किट र भ्यानबाट करिब ५ हजार नमुना परीक्षण गरेको दाबी गरेको छ । प्रयोगशालासँग अत्याधुनिक प्रविधि व्यवस्थापन गर्न असम्भव रहेपनि पोखराको प्रयोगशालाले चालु मेसिनबाटै परीक्षणलाई निरन्तरता दिएको छ ।

कुनैपनि बाली लगाउँनुअगावै माटो परीक्षणमा जोड दिँदै उनै पाण्डे भन्छन् ‘उन्नत जातको बिउँ–बिजन, खनजोत, पोटासियम, फस्फोरसलगायतका मल, सिँचाईको उचित प्रयोग गर्न सके हाल भइरहेको भन्दा २ गूणा बढी उत्पादन हुनसक्छ ।’

हाल स्थानीय निकायबाट व्यावसायिक कृषिका नाममा दिइने अनुदानले खासै सकारात्मक सन्देश दिन नसकेको उनको गुनासो छ । ‘छिमेकी मुलुक भारतमा किसानले माटो परीक्षण गरेको ‘सोइल टेस्ट रिपोर्ट’ पेश गरेपछि बल्ल प्राथमिकताका आधारमा अनुदान दिने गरिन्छ’ पाण्डेले भने ‘यहाँ निवेदनको आधारमा पैसा दिने गरिएको छ ।’

सरकारी अनुदान सही ठाउँमा पुग्नुपर्छ भन्ने उद्देश्यअनुरुप पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुखसँग छलफल चलिरहेको र माटो परीक्षणपछि उपयुक्त हुने खेतीमा सहयोग गर्ने नीति बनाइने पाण्डेले जानकारी दिए ।

Scroll to Top