महानगरका ३५ कर्मचारी सेवामुक्त हुँदै, राहतस्वरुप २ महिनाको तलब !

नयाँलिपिः पोखरा महानगरपालिकाले कार्यरत श्रेणिविहीन बाहेक करार कर्मचारीहरूको म्याद पौष मसान्तपछि थप नगर्ने निर्णय पारित गरेको छ ।

महानगरपालिकाको हालै सम्पन्न विशेष नगरसभाले करार सेवा मुक्त गरिएका ३५ जना करार कर्मचारीहरूलाई थप २ महिनाको पारिश्रमिक बराबरको सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै, नगरसभाले गण्डकी प्रदेश किताब खानामा दर्ता हुने महानगरपालिकाको दरबन्दी संरचनामा नसमेटिएका अन्य स्थानीय तहबाट कामकाजमा रहेका दरबन्दी भन्दा बढीका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा कनिष्ठताका आधारमा काज फिर्ता गर्ने निर्णय समेत भएको छ ।

महानगरपालिकाको स्वीकृत दरबन्दी प्रदेश लोकसेवा आयोगबाट स्थायी पदपूर्ति नहुँदासम्म कर्मचारी आवश्यक परेमा लोकसेवा आयोगको अस्थायी योग्यता क्रमको सूचिबाट करारमा नियुक्ति गरी कामकाजमा लगाउने रहेकाे उल्लेख छ ।

अन्यत्र पालिकामा स्थायी नियुक्ति भई पोखरा महानगरपालिकामा कामकाज वा सरुवा भई आएका कर्मचारीहरूको अन्यत्र पालिकामा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा सुविधाको आर्थिक दायित्व नलिने निर्णय समेत पारित गरेको छ ।

विशेष सभाले नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । ओएनएम प्रतिवेदन अनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ । स्वास्थ्य अन्तरगत सङ्घीय सरकारको १७८ समेत गरी महानगरपालिकामा कुल १ हजार १ सय ९१ दरबन्दी कायम भएको छ ।

Scroll to Top