घरजग्गा खरिद बिक्रीमा अनुमतिप्राप्त कम्पनीलाईमात्र मान्यता दिने तयारी

fishtail hospital

पोखराः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीहरुमार्फत मात्रै घरजग्गा खरिदविक्री गर्ने कानून छिटै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।

शुक्रवार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अनुमति प्राप्त कम्पनीहरुबाट मात्रै घरजग्गा कारोबार हुने ऐन बनाए पनि कार्यान्वयनको लागि नियमवाली आवश्यक रहेको बताउनु भयो । उहाँले उक्त नियमावली चाँडै बनाएर ऐन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उल्लेख गर्नुभयो ।

उहाँले ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरुको मागमा सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

उहाँले निजी क्षेत्रलाई ल्याण्डपुलिङको मान्यता दिने विषयमा सरकारले सोचिरहेको पनि बताउनु भयो । अर्थमन्त्री पौडेलले जग्गा हदबन्दी व्यवस्थाले विगतमा उपयुक्त काम गरे पनि अब समयानुकुल कानून संशोधन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले हदबन्दी व्यवस्थाले कृषि व्यवसाय गर्न, सौर्य ऊर्जाको काम गर्न धेरै समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गा व्यवसायमा देखा परेका समस्या अध्ययन गरी सरकारले सहयोग गर्ने र धराशायी हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘अनुमति प्राप्त कम्पनीहरुबाट मात्रै घरजग्गा कारोबार हुने ऐन कार्यान्वयनको निम्ति नियमवाली बनाएर ऐन कार्यान्वयन गर्न माग गर्नुभएको छ । यो कुरा शतप्रतिशत सही छ । त्यस विषयमा सरकारको गम्भिर ध्यान गएको छ । ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ । त्यस विषयमा पनि व्यवसायीहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं । निजी क्षेत्रले पनि ल्याण्ड पुलिङ गर्न पाउनुपर्ने कोणबाट सुझाव सकारात्मक छ । शहरी विकास ऐन चाँडै आउनुपर्छ भन्ने मागलाई सम्मान गर्न चाहन्छु ।

हदबन्दीको व्यवस्थाले समाजलाई अगाडि लैजाने सन्र्दभमा सकारात्मक योगदान गरेको थियो । जमिनदारी व्यवस्थालाई अन्त्य गर्नको निम्ति महत्वपूर्ण भुमिका खेलेको थियो । विगतको भूमि सम्बन्धि हदबन्दीको व्यवस्था जस्ताको त्यस्तै राखेर घरजग्गा कारोबारमा देखिएका आजका समस्या र चुनौती समाधान हुन सक्दैन । रियल स्टेड क्षेत्रमा हदबन्दीले समस्या बनाएको छ ।

वर्तमान आवश्यकताका आधारमा हदबन्दीको व्यवस्थाहरु परिमार्जन गर्न आवश्यकता रहेको छ । सरकारले यसलाई प्राथमिकताको सूचीमा राखेर काम गरेको छ । चाँडै समस्या समाधान गरेर अगाडि बढाउने पक्षमा सरकार छ । घरजग्गा कारोबारमा आएको संकुचन कम गर्ने पक्षमा छ । घरजग्गा कारोबारलाई परिपक्क ,कानूनी र नागरिकको अपेक्षा पूरा गर्ने हिसावले काम गर्न आवश्यकता छ ।’

उहाँले नेपालका शहर, बस्ती, खानेपानी, ढललगायको विकास गर्न शहरी विकास मन्त्रालय स्थापना गरिएको बताउनु भयो । विदेशीलाई अपार्टमेण्ट बेच्न पाउने मागलाई तत्काल कार्यान्वयन गर्नसक्ने अवस्था नभएको संकेत गर्नुभयो ।

Scroll to Top