पोखरा खुल्ला एमेच्योर गल्फ शुक्रबार देखि

पोखरा । पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८१ शुक्रबार देखि हुने भएको छ ।

कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखरा १४ मझेरीपाटनमा रहेको हिमालयन गल्फ कोर्षमा प्रतियोगिता आयोजना गरिने  आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
उक्त प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, धरान र महोत्तरी सहित विभिन्न क्षेत्रका ६० जना एमेच्योर खेलाडी सहभागि हुने भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पोखराको २ सहित करिब ६ जना महिला खेलाडीहरु सहभागि हुने संघका अध्यक्ष ईस्पेक्टर जिवाराम गुरुङले बताए  ।

पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एमेच्योर गल्फरको सहभागि हुनेछ ।

पहिलो दिन मंसिर २८ गते टिम इभेण्टको प्रतिस्पर्धा हुनेछ । टिम इभेण्टमा दुई जना गल्फर रहने प्रावधान छ । पहिलो दिन बेटर बल(उत्कृष्ट स्कोर)को आधारमा विजेता घोषणा गरिने छ ।

विजेताले ५० हजार, उपविजेताले भने ३० हजार र तेस्रो स्थानमा रहने टिमलाई २० हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको द्धितीय उपाध्यक्ष वालकासी गुरुङले बताईन ।

प्रतियोगितामा टिम इभेण्ट पुरुष, पुरुष खुल्ला, महिला खुल्ला र यु—१६ गरी चार इभेण्टमा प्रतिस्पर्धा हुने भएको हो । दोस्रो दिन महिला तथा पुरुष तथा यु—१६ को इभेण्ट हुने छ ।

१८ होलको प्रतिस्पर्धा स्टेबलफोर्ड ३/४ ह्याण्डी क्यापमा खेलाईने छ । चौथो होलमा होल ईन वान गर्नेलाई ईलेकिट्र्क स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्ने पुरुष तथा महिला एवं उमेर समूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने गल्फरलाई नगदसहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष भक्तराज गुरुङले जानकारी दिए ।

प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्टले पोखरा र यस क्षेत्रमा गल्फ खेल पर्यटनको अथाह संभावना बताए ।

‘गल्फ खेल्ने खेलाडी भनेको क्वालिटीको पर्यट्क भएकोले सरकारले धेरै भन्दा धेरै गल्फ खेलाडी नेपाल भित्राउन सके पर्यटन प्रबर्द्ननमा ठुलो टेवा पुग्छ’विष्टले भने ।

पोखरा रंगशालामा गल्फ एकेडमीको रुपमा विकास गर्न खोजिएको संघले जनाएको छ ।

प्रतियोगितामा करिब १० लाख आम्दानी हुने र प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

प्रतियोगिताबाट बचत भएको रकम संघले स्थापना गर्न खोजेको पोखरा रंगशालाको गल्फ एकेडेमी निर्माणमा खर्च गर्ने जनाएको छ ।

Exit mobile version