प्याब्सन स्पोर्टस् मिट : हिमालयन र सरस्वती च्याम्पियन

पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् ।

५ दिनसम्म चलेको स्पोर्टस् मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका हुन् । रनिङ शिल्ड भने पहिलो वर्ष हिमालयनले लिएको प्रिन्सिपल डा.टेकनारायण पौडेलले बताए ।

आइतबार पोखरा रंगशालामा स्पोर्टस् मिट समापनमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमालयनका डा.पौडेल तथा सरस्वतीका स्वागतमान सिंह भण्डारीलाई संयुक्तरुपमा रनिङ शिल्ड प्रदान गरेका हुन् ।

टिम इभेन्टतर्फ ह्याण्डबलमा दुवै स्कुल विजेता र उपविजेता भई सर्वाधिक अंक जोडेका थिए । हिमालयन गल्र्सतर्फ पहिलो र ब्याइजमा दोस्रो हुँदा सरस्वती ब्याइजमा प्रथम र गल्र्समा दोस्रो भएको हो ।

शनिबार ब्याइज फुटबल फाइनलको उपाधि बालकल्याणले जितेको छ । उसले शान्तिदीपलाई ३–१ गोलअन्तरले हरायो । गल्र्सतर्फ भने कुमुदिनी प्रथम भएको थियो ।

विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासमा सहयोग पुग्ने उद्देश्यका साथ प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस् मिटमा ४५ सय जना विद्यार्थीले विभिन्न इभेन्टमा भाग लिएका थिए ।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल भएको हो ।

कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेल भएको हो ।

प्याब्सनले स्थापनाकाल २०४७ देखि शिक्षासँगै खेलकुदको विकास गर्ने उद्देश्यले प्याब्सन स्पोर्टस् मिट आयोजना गर्दै आएको अध्यक्ष मथुराप्रसाद पौडेलले बताए ।

संस्थामा ९९ विद्यालय सदस्य छन् । प्याब्सन कास्कीअन्तर्गत ७५ हजार विद्यार्थी अध्ययनरत् छन् । स्पोर्टस् मिटमा अघिल्लो वर्ष टप्स च्याम्पियन भएको थियो ।

Exit mobile version