प्याब्सन स्पोर्टस् : आइतबार समापन हुने

पोखरा । प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ ।

पोखरा रंगशालामा दिउँसो गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा स्पोर्टस् मिटको समापन हुने अध्यक्ष मथुराप्रसाद पौडेलले बताए । उनले पाँचदिने महोत्सवले विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासमा सहयोग पुगेको बताए ।

स्पोर्टस् मिटको चौथो दिन शनिबार विभिन्न इभेन्टमा खेल भए । जुनियर ह्याण्डबलमा हिमालयन बोर्डिङ स्कुल, बिरौटा र सरस्वती आदर्श विद्याश्रम, लामाचौरले उपाधि जितेका छन् ।

गल्र्सतर्फ फाइनलमा हिमायनले सरस्वती आदर्शलाई ४–२ गोलअन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । सोसल पब्लिक तेस्रोमा सीमित भयो ।

ब्याइजतर्फ फाइनलमा सरस्वती आदर्शले हिमालयन बोर्डिङलाई २१–१३ गोलअन्तरले पराजित गर्दै स्वर्ण जितेको हो । ग्लोबल कलिजियट तेस्रो भयो । फुटबलतर्फ शान्तिदीप र बालकल्याणबीचको फाइनल आइतबार बिहान ११ बजे हुनेछ । त्यसअघि ८ बजे तेस्रो स्थानका लागि शान्तिनिकुञ्ज र डायमण्डबीच हुनेछ ।

यस्तै, एथ्लेटिक्सतर्फ ब्याइज ट्रिपल जम्पमा रिभरडेलका तरुण गुरुङ प्रथम भए । ग्लोबल कलिजियटका दिप्सन चौधरी दोस्रो र नेपाल आदर्शका सिमोन खनाल तेस्रो भएको एथ्लेटिक्स खेल संयोजक विधान गौतमले बताए ।

कक्षा १० सम्म ब्याइज ४०० मिटर दौडमा अल्फा बोर्डिङका विशाल मगर प्रथम, सगरमाथा निकेतनका अञ्जन रानामगर दोस्रो र नेपाल आदर्शका आदर्श यादव तेस्रो भए ।

सोही इभेन्टमा गल्र्सतर्फ फिस्टेलकी आराध्या चालिसे प्रथम, धौलागिरी बोर्डिङकी इशा सुवेदी दोस्रो र सिर्जनाकी प्रिन्का अर्याल तेस्रो हुन सफल भए ।

गल्र्स लङजम्पतर्फ सगरमाथा निकेतनकी अनुष्का गुरुङ प्रथम भइन् । फिस्टेलकी आइको लक्ष्मी बाटाजु र करुणानिधिकी संगम भण्डारी क्रमशः दोस्रो र तेस्रो भए । उक्त प्रतियोगितामा २५ धावकले भाग लिएका थिए ।

ब्याइज २०० मिटर दौडमा बालोदयका प्रशन्न महत प्रथम, सगरमाथा निकेतनका अञ्जन रानामगर दोस्रो र फिस्टेल एकेडेमीका कृन थापा तेस्रो भए ।

गल्र्स २०० मिटर दौडमा सगरमाथा निकेतनकी अनुष्का अधिकारी प्रथम, फिस्टेलकी आइको लक्ष्मी बाटाजु दोस्रो र करुणानिधिकी संगम भण्डारी तेस्रो भए ।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल भएका हुन् । प्रतियोगिता संयोजक एवं प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल,

छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेल भएको बताइन् ।
प्याब्सनले स्थापनाकाल २०४७ देखि शिक्षासँगै खेलकुदको विकास गर्ने उद्देश्यले प्याब्सन स्पोर्टस् मिट आयोजना गर्दै आएको छ । संस्थामा ९९ विद्यालय सदस्य छन् । प्याब्सन कास्कीअन्तर्गत ७५ हजार विद्यार्थी अध्ययनरत् रहेकामा स्कुलबाट छानिएर आएका ४५ सय विद्यार्थीले आफ्नो खेलकौशल पस्किएका हुन् ।

Exit mobile version