Skip to content

चितवनमा रविको बयान जारी, साइ बचतबाट निकिता तानिने

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सँग आज पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदैछ ।

काठमाडौंबाट मंगलबार चितवन पुर्‍याइएका लामिछानेसँग सरकारी वकील कार्यालयमा मंगलबार मध्याह्न १२ बजे देखि पाँच घन्टा बयान लिइएको थियो । लामिछानेसँग आज पुनः लिखित बयान लिइने सरकारी वकील कार्यालयले जनाएको छ ।

मंगलबार पहिलो दिन प्रारम्भिक प्रश्नमात्र गरिएकोमा आज थप विषयमा लिखित बयान हुनेछ । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट मंगलबार बिहान चितवन लगिएको थियो ।

चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछाने सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र नेचर हब इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ ।

यसैबीच, सभापति लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनामा अनुसन्धान गर्न काठमाडौं महानगरले प्रहरीलाई पत्र लेखेको छ ।

सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको, बचत परिचालनमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिए पछि सञ्चालक माथि अनुसन्धान र कारबाहीका लागि भन्दै प्रहरी परिसरलाई पत्र पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *