अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुँदैछ ‘पर्वतीय महोत्सव’

पोखराः पोखरामा यही मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्तरुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ ।

महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताए ।

‘संग्रहालय अवलोकन गर्न आउने र आउने योजना बनाउनुभएका महानुभावले पनि यही अवधिमा अवलोकन गर्दा पर्यतीय सभ्यता, कला, संस्कृति, समस्या र समाधानबारे जानकारी पाउने अवसर मिल्छ,’ उनले भने । महोत्सव आयोजना गर्न ३२ लाख खर्च हुने बताइएकाे छ।

पर्वतारोहण संघका सल्लाहकार डा. गणेश गुरुङले महोत्सवका लागि आवश्यक खर्चको प्रबन्ध आयोजक आफैं र केही संस्थासँग सहकार्यबाट हुने बताए । ‘पर्वतीय महोत्सव अरु आम महोत्सवभन्दा पृथक र विशिष्ट छ । पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, संग्रहालय जस्ता विषयमा रुचि राख्नेहरु प्राथमिकतामा भए पनि हामी सबै प्रकारका दर्शकलाई स्वागत गर्न उत्सुक र इच्छुक छौं,’ उनले भने ।

 

Exit mobile version