स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन

-


     नयाँ लिपि    
     असार ७ गते २०८१ मा प्रकाशित



पोखरा । स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन बनेको छ । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै स्याङजा च्याम्पियन बनेको हो ।
पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९ दशमलब ३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो ।

उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

कास्कीको पारीको सुरुवात खासै जम्न सकेन । कास्कीका भरपर्दो मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाए । उनलाई करण पगेनीले रन आउट गरे । मुस्कान थापाले ३ रन बनाउँदै आउट भए भने अभिशेक थापाले २५ बलमा १७ रन बनाए । सोहेल कुंवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिए ।

स्याङजाका लागि ३ दशमलब ४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पगेनीले समान १–१ विकेट लिए ।

जवाफी व्याटिङका लागि उत्रिएको स्याङजाका ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए । विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिंदै सुरुवातमा नै कास्कीले स्याङजालाई दबावमा राख्ने प्रयास गर्यो ।

स्याङजाका लागि करण पगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाए । उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए । स्याङजाका अर्का व्याट्स्म्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे । सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाए । उनलाई अभिसेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे । खेलमा स्याङजाका करण पगेनी फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

यहि असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुँदा खेल अविधमा १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर वेष्ट व्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका स्याङजाका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगद सहित ट्रफी हात पारे ।