विद्यालय स्तरीय यू–१५ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा शुरु

-


     सुरज श्रेष्ठ    
     जेठ २९ गते २०८१ मा प्रकाशित


पोखरा । विद्यालय स्तरीय यू–१५ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आज बाट  शुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ‘ भन्ने मुल उद्धेश्यका साथ  पोखरा रंगशालामा आज बाट शुरु भएको यू–१५ राष्ट्रिय प्रतियोगिताको औपचारिक उद्धघाटन भोलि हुने भए पनि ब्याटमिन्टन खेल आज बाट शुरु भएको मंगलबार प्रदेश खेलकुद परिषद गण्डकीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा आज बाट अनौपचारिक शुरु भएको खेलकुद प्रतियोगितामा ६ खेल समावेश रहनेछ ।

जसमा एथ्लेटिक्स, रग्वी, ब्याडमिन्टनसँगै बास्केटबल, रग्वी, टेबलटेनिस र बुद्धिचाल (चेस) मा प्रतिस्पर्धा हुने प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बताए । उनका अनुसार एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र १६ सय मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टन र टेबलटेनिसतर्फ पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी ५/५ इभेन्टमा खेलाडी भिड्ने छन् ।

बास्केटलबल,रग्वी र बुद्धिचालको टिम इभेन्टमा खेल हुनेछ । ‘सबै खेलमा छात्र छात्राले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन । यस प्रतियोगितामा सबै प्रदेशबाट ६३० जना सहभागी हुने बताइएको छ ।

यु–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न एक करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद र ३२ लाख खेलकुद परिषद गण्डकीले खर्च व्यहोर्ने सदस्य सचिव शर्माले बताए ।