चन्द्र भण्डारीलाई शुक्रबारबाट ठोस खाना खुवाइने

-


     नयाँ लिपि    
     फागुन ११ गते २०७९ मा प्रकाशित


काठमाडौं, फागुन ११ गते । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलि (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ । 

कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारीलाई भोलीबाट मुखबाट तरल पदार्थ खुवाइँदै आइएकोमा भोलिबाट ठोस खाना दिइने जानकारी दिनुभयो ।  

कँडेलले सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गइरहेको र सबै पारामिटर (मानक)हरु सामान्य रहेको बताउनुभयो ।  

भण्डारीलाई कम्तीमा २१ दिनसम्म ब्याण्डेजमा रहनुपर्ने हुँदा इन्फेक्सन हुने सम्भावना भएकाले शुभचिन्तकलाई तत्काल भेटघाट नगर्न उपचारमा संलग्न चिकित्सकको सुझाव रहेकने भनाइ छ । 

नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । घटनालगत्तै उहाँहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।

आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमै निधन भएको थियो । नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि फागुन ४ गते श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको थियो ।