व्यवस्थित रूपमा संसद् चलाउनेछु

-


     नयाँ लिपि    
     फागुन ९ गते २०७९ मा प्रकाशित


स्याङ्जा, फागुन ९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रूपमा संसद् चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानुनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो । 

हिजो कसले के गर्‍यो त्यसप्रति आफूलाई कुनै चासो नरहेको बताउँदै आफू हिजो जुन राजनीतिक दलमा रहे पनि अहिले स्वतन्त्र भएकाले तटस्थ रहेर काम गर्ने बताउनुभयो । 

बेरोजगारलाई रोजगार दिने गरी ऐन बनाउने बताउँदै सभामुख घिमिरेले युवा बिदेसिनबाट रोक्नु पर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेश सभा सदस्य महेश भट्टराई, पूर्व प्रदेश सभा सदस्य मोहन रेग्मी, पालिका अध्यक्ष खिमबहादुर थापालगायतले गाउँको विकासमा सबैको समान चासो जानुपर्नेमा जोड दिनुभयो । 

कालिगण्डकी अस्पतालको नयाँ भवन २१ करोड ५७ लाख ६८ हजार ५०२ रुपियाँमा निर्माण हुन लागेको हो । 

१३ रोपनीमा बन्ने १५ शैयाको अस्पताल दुई ब्लकमा रहने छ भने दुई बल्कलाई आपसमा आरसिसी ब्रिजले जोड्ने प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बताउनुभयो । 

‘ए’ ब्लक ४५५ र ‘बी’ ब्लक ७०४ वर्ग मिटरमा रहने पाण्डेले बताउनुभयो । भवन आर एण्ड सीएस विकोन जेभि काठमाडौँले गत कार्तिक १७ गते निर्माणको सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन तले अस्पताल दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेको हो । 

दुई वर्ष स्थापना भएको अस्पतालबाट कालिगण्डकी, गुल्मी र पर्वतका स्थानीय बासिन्दाले सेवा पाउँदै आएका छन् । 

कार्यक्रममा पालिकाको झण्डा बनाउने वडा नं ७ का मदन भट्टराई र छाप निर्माण गर्ने वडा नं ५ का रिजिता श्रेष्ठलाई ५०/५० हजार रुपियाँ र सम्मानपत्रले सम्मान गरिएको थियो ।