पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको बाईसौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः प्रधान

-


     नयाँ लिपि    
     पौष ५ गते २०७९ मा प्रकाशित


पोखरा, पुस ४
पोखरामा प्रधान कार्यालय रहेको गैरसरकारी संस्था पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको २२ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति, कास्कीका उप–प्रमुख सरिता मालले गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि मालले हालसम्म संस्थाले पु¥याएको सेवा तथा सुविधाबाट धेरैभन्दा धेरै सेवाग्राहीहरू लाभान्वित भइसकेको भन्दै आगामी दिनमा यस संस्थाले यसलाई निरन्तरता दिँदै सेवाक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता प्रकारका संस्थाहरूको सक्रियताले नै नेपाल सरकारको नीति कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

समारोहमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. केदारराज पाण्डे, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गण्डकी प्रदेशको योजना तथा मूल्यांकन महाशाखा प्रमुख डा. गृष्म नेउपाने, नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा. युवराज भुसाल लगायतका वक्ताहरुले संस्थाले पशुकल्याण र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता उत्पादनमा पु¥याएको योगदानको बारेमा बताउँदै आगामी दिनमा संस्थाले गर्न सक्ने सम्भावित क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो ।

समारोहमा पशु कल्याणमा उल्लेखनीय योगदान पु¥याउने नेपाल इँटा उद्योग व्यवसायी संघ–कार्कादो, नेपालगञ्ज, दाङ देउखुरी इँटा व्यवसायी संघ, दाङ र भक्तपुर इँटा उद्योग व्यवसायी संघ, लिवाली भक्तपुरलाई सम्मान गरिएको थियो ।

साधारण सभाले संस्था कोषाध्यक्ष मगनलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वार्षिक बजेट र परियोजना संयोजक उमेश शर्माले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन पारित गरेको थियो । संस्थाका सचिव लीलाबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डा. शिवहरि घिमिरेले गर्नुभएको थियो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शिवकुमार प्रधानले गर्नुभएको थियो ।

संस्थाको १० औं अधिवेशनले शिवकुमार प्रधानको अध्यक्षतामा नयाँ कार्यसमितिको पनि निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. शिवहरि घिमिरे, सदस्य सचिवमा लीलाबहादुर गुरूङ, कोषाध्यक्षमा सुनीता प्रधानांग, सदस्यहरूमा मगनलाल श्रेष्ठ, तुलसीजंग दाहाल र नवीन भण्डारी रहनुभएको छ ।

२०५६ सालमा स्थापित संस्थाले निरन्तर ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम, आधारभूत कृषि तालिम, पुनर्ताजगी तालिम प्रदान गर्दै कृषि तथा पशु कल्याणको क्षेत्रमा काम गर्दै आएको छ ।