सहरमा सरलीकृत हुँदै रजस्वलाको सामाजिक जटिलता

-


     कल्पना चिलुवाल    
     मंसिर २८ गते २०७९ मा प्रकाशित


सांकेतिक तस्वीर

पाेखरा, २८ मंसिर । कल्पना चिलुवाल
समय परिवर्तनशील छ । यस परिवर्तनशील समयलाई शिक्षा, चेतना, सञ्चार माध्यम, वैज्ञानिक उपकरण आदिले अझ द्रुत गतिमा बदल्दै लगेको छ । जसको प्रभाव समाज, संस्कृति हु्ँदै व्यक्ति विशेषमा टड्कारो रुपमा देखिन थालेको छ । यस्तै कुराहरु मध्ये नेपाली समाजमा रजस्वला अर्थात् महिनावारी भएकी महिलालाई हेर्ने दृष्टिकोण पनि एक हो ।

नेपालमा विशेष गरी ब्राम्हण ÷क्षेत्री समाजमा महिलालाई रजस्वला हुँदा भान्छाको काम लगायत पूजाआजा आदि कार्य गर्न रोक लगाइन्छ । यसको प्रभाव परेका अन्य समूदायले पनि महिनावारी हुँदा बार्ने गरेको पाइन्छ । आफू खुसी जताततै छुन रोक लगाइएको अर्थात् बार्ने गरेकाले रजस्वला भएकी महिलालाई पर सरेकी स्त्री, नछुने भएकी स्त्री भनेर सम्बोधन गर्ने मात्र होइन निषेध गरिएका कुराहरु छुदा छोइछिटो समेत गरिन्छ ।

यो बार्ने प्रक्रियाका आफ्नै नियमहरु लागू गरिएका छन् । ती मध्ये रजस्वलाको समय छुट्टै कपडा लगाउनु पर्ने, छुट्टै बिस्तरा प्रयोग गर्नु पर्ने पनि हो । महिनावारी हु्ँदा लगाएका कपडा र सुतेको बिस्तरा जुठो हुने भनी कमसल र पातला बिस्तरा प्रयोग गर्न लगाउँदा त्यसकोे नकरात्मक प्रभाव किशोरी र महिलाहरुलाई पर्ने गरेको पाइन्छ । जाडो मौसममा अझ यो सकसपूर्ण हुने कुरा स्वयम् महिलाहरुले बताउने गरेका छन् ।

गाउँघर र दुरदराजका बस्तीमा अझै पनि पुरानै ढर्राबाट महिनावारीलाई हेरिए पनि सहर – बजारमा यसलाई हेर्ने दृष्टिकोणमा क्रमशः परिवर्तन हु्ँदै आएको पाइन्छ । महिनावारीलाई लज्जा र संकोचको विषय ठानेर यस विषयमा खुलेर नबोल्ने गर्नुको साथै यससँग जोडिएका कुरालाई समेत भरसक लुकाउने गरिन्थ्यो । जस्तो की सेनिटरी प्याड लुकाएर किन्ने वा किनिसकेपछि कागजमा बेरेर ल्याउने कार्यको साथै महिनावारीमा प्रयोग गरिएको कपडा कसैले नदेख्ने गरी अँध्यारो कुनामा लुकाएर सुकाउने । प्याडका रुपमा प्रयोग गरिएका कपडा धोइसकेपछि घाममा राम्रोसँग नसुकाउँदा त्यसले यौनीमा संक्रमण गर्छ भनेर स्वस्थ्य कर्मीहरुले भन्दै आइरहेका छन् ।

स्वभाविक महिनावारी प्रक्रियालाई अस्वभाविक रुपले अप्ठ्यारो कुरा ठानिदा नकारात्मक प्रभाव महिलाहरुले भोग्दै आएका छन् । तर यसमा बिस्तारै परिवर्तन पनि आउँन थालेको छ । तीन÷चार वर्ष अधिसम्म प्याड किन्न महिला भएकै पसल खोजी हिड्ने कक्षा बाह्रमा पढ्ने आर्बा पोखराकी रविना सापकोटा अहिले बिना हिचकिचाओट आफ्नो पाइपरेको पसलमा सेनिटरी प्याड किन्ने गरेको बताउँछिन् । त्यसैगरी सेतीखोला कास्कीकी सीमा सुनार आफ्नी आमाको अनुरोधमा पूजाकोठा नछोए पनि अन्य कुरा नबार्ने गरेको बताउँछिन् । पोखरा मियापाटन बस्ने बिस वर्षकी आइसा खातुन महिनावारी हुँदा छुट्टै बिस्तरामा सुत्न नपरेको बताउँछिन् । त्यसैगरी पोखरा –१३ बस्ने हेटौडाकी रेजिना सारु पहिलो पटक महिनावारी हु्ँदा दस वर्षकी थिइन् । बिहान उठ्दा आफू रजस्वाला भएको थाहा पाएकी उनले त्यो दिन भरि अप्ठ्यारो लागेकाले कसैलाई नभनेको बताउँछिन् । बिहान स्कुल गएर फर्केपछि बेलुका मात्र घरमा भनेको र चलनचल्ती अनुसार नौ दिनसम्म परिवारले लुकाए पनि अहिले आफू महिनावारी हु्ँदा अप्ठ्यारो नमानी भन्ने गरेको बताउँछिन् । यसैगरी कास्की तारकाङकी १७ वर्षीय विष्णु बराल पहिला महिनावारीमा पेट, ढाड दु्खेर मुख अँध्यारो हुँदा कसैले के भयो भनेर सोध्यो भने टाउँको दुख्यो भन्ने उनी अहिले आफु महिनावारी भएको कुरा भन्न गाह्रो नलाग्ने बताउँछिन् ।

अहिले सरकारी विद्यालयमा निशुल्क सेनिटरी प्याड राख्न थालेपछि सुरुमा छात्राहरु प्याड लिन केही हिचकिचाए पनि शिक्षकहरुको निरन्तर सम्झाइबुझाइले अहिले बिनासङ्कोच र बिनाडर आफूलाई आवश्यक परेको बेला छात्राहरु सेनिटरी प्याड लिन आउने गरेको बताउँछिन् पोखरा, कुँडहर–१४ स्थित श्री भद्रकाली मा. वि. की शिक्षक शान्ति के. सी. ।

विद्यालय स्तरको स्वास्थ्य तथा शारिरिक शिक्षामा महिलाको रजस्वला अर्थात् महिनावारी सम्बन्धी विषयवस्तु समावेश गरिएकाले पनि यस विषयमा अहिले किशोरीहरु बढी सचेत भएर खुलेर बोल्न सक्ने भएका छन् । यसमा उनीहरुका आमाहरुको पनि महत्त्वपूर्ण भूमिका देखिन्छ । आफू पहिलो पटक रजस्वाला हु्ँदा आफ्नी आमाले आफूलाई परम्पराअनुसार लुकाएको भए पनि आफूहरु अब आफ्ना छोरीहरुलाई त्यसरी अरुको घरमा लगेर नलुकाउँने भन्छिन् पोखरा १० बस्ने दीपा विष्ट ।

महिनावारी प्रत्यक्ष रुपमा प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो । महिनावारीको एक पुरा चक्र औसतमा २८ दिनको हुन्छ । व्यक्तिअनुसार फरक देखिने यो चक्र २१ दिनदेखि ३५ दिनसम्मको पनि हँुने गर्छ । महिनावारीलाई पाठेघरको प्राकृतिक सरसफाई पनि भनिन्छ र यसले किशोरीहरु परिपक्क हुँदै गएको र युवतीहरु गर्भधार गर्न योग्य छन् भन्ने कुराको सङ्केत गर्छ । तर महिनावारी हुँदा हर्मनहरुको उतारचडाबले महिलाहरुको पेट दुख्ने, ढाड दुख्ने, कमजोर भएको महसुस हुने, चिसो लाग्नेजस्ता समस्याहरु देखिने गर्छन् । यस्तो बेला अन्यबेला भन्दा बढी शारिरिक स्याहार चाहिन्छ । यो कुरा बुझेका चेतनशील आमाहरुले अचेल पुरानो चलनचल्तिलाई एकातिर पन्छाएर आफ्ना छोरीहरुलाई खानपिनदेखि लिएर उनीहरुको स्वथ्यलाई ध्यान दिन थालेका छन् । न त उनीहरु आफ्ना छोरीहरुलाई चिसोमा फालिएका पुरान बिस्तारमा सुत्न लगाउँछन्, न त लुगा जुठो हुन्छ भनेर महिनावारी भएको बेला पुरान कपडाले निबार्ह गर्न लगाउँछन् ।

महिनावारी भएकी महिलासँग अरु छोइदा सुनपानी हाल्ने चलन सहर बजारमा देखिन छोडिसकेको छ । कार्यलय, कार्यस्थल, विद्यालय, कलेज जतातै महिनावारीको पुरातन छोइछिटोलाई पर मिल्काएर सँगसँगै खाना खाजा खाने गरिएको छ । घरमा पनि अधिकांश परिवारमा महिनावारी भएकी महिलाले खाना बनाउँने र सँगै बसेर खाने गरिएको छ ।

यो परिवर्तनले रजस्वला भएकी महिलालाई छोइछिटो गर्ने अमानवीय र अस्वस्थकर व्यवहारमा कमी आएकाले अबका किशोरीहरुले अनावश्यक झनझट बेहोर्न नपर्ने देखिन्छ । जसले गर्दा प्रत्येक्ष अप्रत्येक्ष रुपमा महिलाको प्रजनन स्वस्थ्यमा सकारात्मक असर पर्ने कुरा विज्ञहरुले बताउने गरेका छन् ।