पाेखरेली जनताले जिताउनुहुन्छ : उम्मेदवार बराल

-


     नयाँ लिपि    
     मंसिर १ गते २०७९ मा प्रकाशित



पोखरा, ३० कात्तिक
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले पोखरेली जनताले आफूलाई अहिलेसम्म गरेको मायाँलाई मतमा परिणत गरेर आफूलाई निर्वाचित गर्ने बताएका छन् ।
जनताको घरदैलोमा जाँदा आफ्नो प्रतिक्षा गरेको महशुस भएको भन्दै उनले जनतासंग अहिलेसम्म जोडिएको र निर्वाचित भएपछि पनि निरन्तर जोडिइरहने बताए ।
बुधबार साँझ घरदैलो पछि उनले भने, सधै जनताको साथमा छु । उहाँहरुको सुखदुखमासंगै छु र सकेसम्म सहभागी भएको छु । यत्तिको पात्र जनताको बीचमा आए एक मौका दिऔं भन्ने उहाँहरुमा छ र मैले पनि मौका पाए जनप्रतिनिधिले कसरी काम गर्नुपर्छ भनेर अरुका लागि पनि प्रेरणा हुनेगरी काम गर्ने अठोट लिएको छु । मलाई पूर्ण भरोसा छ अहिलेसम्म मलाई पोखरेलीले दिनुभएको मायाँ मतमा परिणत गरेर मलाई जिताउनु हुनेछ ।’
उम्मेदवार बरालले पाँच दलको आफू साझा उम्मेदवार रहेकोले सबैको साथ स्वभाविक रुपमा रहेको भन्दै एमालेका पनि इमान्दार नेता कार्यकर्ताले एक पटक आफूलाई न्याय गर्ने मनस्थिति बनाएको दाबी गरे ।
म पाँच दलको साझा उम्मेदवार हुँदै हुँ । एमालेमा पनि हिजो जुनढंगले न्याय हुनुपर्दथ्यो त्यो भएन । त्यो एमालेका इमान्दार नेता कार्यकर्ताले पनि महसुस् गर्नुभएको छ । उहाँहरुले पनि मलाई एक पटक न्याय गरौं भन्नुभएको छ । यस हिसावले सबैको साझा उम्मेदवार भएको मैले आफूलाई महसुस् गरेको छु ।’ उनले भने, पोखराको जुनसुकै भूगोलमा भएपनि यहाँका दाजुभाई दिदिबहिनीहरुले मलाई राम्रोसंग बुझ्नुभएको छ । यो सबै कुरा मंसिर चार गते हुने निर्वाचनमा मत मार्फत प्रकट गर्नुहुनेछ । त्यसैले मेरो जित निस्चित बनेको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउने मात्र नभई राजधानीका लागि चाहिने पूर्वाधार निर्माणमा पनि आफू लाग्ने उनले बताए । त्यसका लागि नीति निर्माण देखि प्रदेश र महानगरसंग समन्वय गर्ने कुरामा खट्टिने उनको भनाई छ ।
आफूले धेरै ठूलो कुरा नगर्ने तर जनताको भावनासंग जोडिएका विषयलाई संसदमा उठाउनुका साथै जनतासंग पनि सहभागि भएर काम गर्ने उनले दृढता प्रकट गरे । म ठूलो कुरा गर्दिन । एउटा प्रतिनिधिसभा सदस्यको काम देशको नीति निर्माण गर्ने हो । जनताका आवाज र समस्यालाई संसदमा मुखरित गर्ने हो । साथै भ्रष्टाचारको अन्त्य गर्ने, पारदर्शीतामा जोड दिने, पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्ने र जहाँ जे कुराको सम्भावना छ त्यसको खोजी गर्दै जनजिविकालाई सहज बनाउन मेरो ध्यान केन्द्रित हुन्छ । मलाई मत दिने क्षेत्रका जनताको हितलाई केन्द्रमा राख्ने मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।