सम्पादकीय: के अहिले देखिए जति चुनावपछि पनि सक्रिय हाेलान् उमेदवार ?

- जनताको काममा विजयी उमेदवारहरू !

-


     नयाँ लिपि    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित


अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । चुनावी प्रचारप्रसारले तीव्र गति लिएको छ । चुनावी मैदानमा उत्रिएका हरेक पार्टीका लगायत स्वतन्त्र उमेदवारहरू दिनरात नभनी प्रचारप्रसारमा खटिएका छन् । आफू मात्र हाेइन आफ्ना कार्यकर्ता , शुभेच्छुक , नातेदार सबलाई भाेट माग्न खटाएका छन् । समय, पैसा , दलबल, चतुर्‍याइँ सब खन्याइएकाे छ । हारजितकाे चिन्ता छ । निद हराएको छ । के हाेला, कसाे हाेला काैतुहल छ । उमेदवार मात्र हाेइनन् तिनका घरपरिवार – आफन्तजन पनि हारजितमा चिन्तित र उत्साहित दुवै छन् ।

याे सक्रियता , याे लगानी , यो चिन्ता , यो चासो , याे तिकडम, याे चतुर्‍याइँ , याे पछारपछार, याे याेजना, याे गम्भीरता यी सबका सब लगानी र क्षमता जनताको पक्षमा र विकासमा चुनावी जीत पछि पनि हाम्रा उमेदवारहरूले लगाउन सके अन्त नभए पनि कम्तीमा तिनका क्षेत्रका जनताले त केही राहत पाउने थिए ।

अरू पर जनाऊँ तिनका घाेषणा पत्र, तिनका प्रतिवद्धता, तिनका वचनवद्धता, तिनका आस्वासन, तिनका वाचा/ कसम जे- जति छन् ती कम्तिमा आधा मात्र तिनको कार्यकालमा पूरा गरे पनि जनताले धेरै राहत महसुस गर्ने थिए ।

यहाँ त समयानुकूल क्रमिक प्रगति हुनु बाहेक अतिरिक्त बल, अतिरिक्त इच्छाशक्ति लगाएर केही नयाँ हुनु दुर्लभ छ ।

ज-जसले विजय हासिल गरे पनि आफ्नाे निजी आर्थिक उन्नतिमा नलागी जनतालाई गरेको आफ्नो वचनवद्धता पूरा गर्ने सत्बुद्धि आओस् शुभकामना ।