माछापुच्छ्रे गाउँपालिकामा पक्की सडककाे माग

-


     नयाँ लिपि    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित


पोखरा, १४ कात्तिक
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने सडकमा लामो समयदेखि काम हुन सकेको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सो सडक अहिले अलपत्र छ ।
निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोमबार गाउँपालिकाको लाहाचोकमा घरदैलोका क्रममा स्थानीयले पालिकाको गौरवको सो सडक चाँडै सम्पन्न गर्न गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीसँग माग गरेका छन् ।
उनीहरुले डेढ वर्षअघि सम्पन्न हुनुपर्ने सो सडकमा अहिलेसम्म पनि कालापत्रको काम नभएको भन्दै काम सुरु गर्न पहल गरिदिन आग्रह गरे । स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्तीका कारण आफूहरुले दुःख पाएको बताए । ‘हामीले सडक छिटो सम्पन्न गर्न पटक पटक आवाज उठाएका छौँ तर सुनुवाई भएको छैन,’ अधिकारीले भने, ‘गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखि अलपत्र पर्दा दुःख भोग्न बाध्य छौं । गाउँपालिका र प्रदेश सरकारले दबाब दिनु पर्छ, हाम्रो बाटो छिटो बन्नुप¥यो ।’
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा गाउँपालिका जोड्ने सो सडकको कामअघि बढेको हो । सुरुमा प्रदेश सरकारको एक निर्वाचन क्षेत्र। एक सडक योजना अन्तर्गत सोही क्षेत्रका सांसद बरालले सो सडक छनोट गरेका थिए । प्रदेश सरकारको १० करोड लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।
स्थानीयले लाहाचोक ज्ञानज्योति बोर्डिङदेखि जोगीचौरसम्मको सडक पनि ठेक्का सम्झौता भएको लामो समयसम्म काम सुरु नभएकामा चिन्ता व्यक्त गरे । गठबन्धनका साझा उम्मेदवार भण्डारीले पालिका जोड्ने सडक छिटो सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । उनले पहिला यसका बारेमा बुझेर प्रदेश सरकारसम्म जनताका गुनासा लैजाने बताए ।
उम्मेदवार भण्डारीले भने, ‘स्थानीयका गुनासा मैले सुनेँ,यसका बारेमा पहिला के कारणले ढिलाई भएको हो भन्ने बारेमा बुझेर तत्काल कामअघि बढाउन पहल गर्नेछु ।’ उम्मेदवार भण्डारीले लाहाचोकका सानोपाटन, ठूलो पाटन, नेपाली टोल, भाटथर लगायतका स्थानमा घरदैलो गर्दै माछापुच्छ्रेको विकासका लागि आफूलाई मतदान गर्न आग्रह गरे । घरदैलोमा गठबन्धन दल नेपाली कांग्रेसका महासमिति सदस्य खुशीमान गुरुङ लगायत, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत दलका पालिका स्तरका नेता तथा कार्यकर्ता सहभागी थिए ।