विजयको योगदानको सम्झना

-


     नयाँ लिपि    
     पौष ३० गते २०७८ मा प्रकाशित


पोखरामा बिहीबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा सहिद बनेका विजय ढकालको सम्झना गरिएको छ ।

उनको १७ औं स्मृति दिवसमा बिहीबार साँझ पोखरा ६ सहिद पार्कमा दीप प्रज्वलन गरिएको छ । उनको २०६१ पुस २९ निर्मलपोखरीको साम्मीमा सुरक्षाकर्मीले हत्या गरेका थिए ।

विजयकी आमा पारु ढकालले उनको शालिकमा पुष्पार्पण गरिन् । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले विजयहरुकै योगदानको जगमा अहिलेको परिवर्तन सम्भव भएको बताए ।

उनले सहिद, बेपत्ताका सपना अझै पूरा नभएकाले उनीहरुले देखाएको बाटोमा दृढतापूर्वकअघि बढ्नुपर्ने उनले बताए । कार्यक्रममा मन्त्री हरिशरण आचार्य पनि सहभागी थिए ।

अखिल नेपाल लेखक संघ गण्डकी अध्यक्ष भीम रानाभाटले जनताले परिवर्तनको आभास अझै गर्न नपाएको बताए ।