सीटीईभीटीलाई गाउँ–गाउँमा लैजानुपर्छ : शिक्षा मन्त्री पौडेल

-


     नयाँ लिपि    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्​ (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् ।

मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताए ।

उनले भने, ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको हो । जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने उनको भनाई थियो । देशभर ६१ आंगिक प्राविधिक शिक्षालय भएको बताउँदै आवश्यकताका आधारमा सम्बन्धन दिन समस्या नहुने विषयलाई मन्त्री पौडेलले प्रष्टाए ।

उनले भने, ‘जनतासँग जोडिएको विषय भएकाले यसलाई उत्पादनसँग जोड्दै जनपक्षीय बनाउनु पर्छ ।’ सीटीईभीटीका कर्मचारीले कर्मचारी दरबन्दीको समस्या, अदालतमा परेको मुद्दाका विषयमा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।