शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रियामा लैजाने कार्य सुरु

-


     नयाँ लिपि    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक र शिक्षकसेवा आयोगका पदाधिकारीहरुसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा शिक्षामन्त्री पौडेलले आयोग नियमावली संशोधन प्रक्रियामा लैजान निर्देशन दिएका हुन्।

आयोगमा पदाधिकारी नियुक्त भएसँगै वार्षिक कार्यतालिका बनाए पनि नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ। त्यसैले नियमावली संशोधन गर्न मन्त्रीले चासो देखाएका हुन्।

शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाउन भनेकाले अब शिक्षक नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ।

आयोगले शिक्षक छनोटका लागि खुला तथा आन्तरिक बढुवाको विज्ञापन गर्ने तयारी पूरा गरेको छ। अब नियमावली संशोधन प्रक्रिया अघि बढेसँगै आयोगले शिक्षक ‍छनोट प्रक्रिया थाल्ने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा बताउँछन्।

आयोगले यसअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। प्राविधिक कारण देखाउँदै नियमावली संशोधनको प्रक्रिया रोकिएको थियो नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र ९लाइसेन्स० परीक्षा लगायतका काम रोकिएका छन्।

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ। केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न माध्यमिक तहका दुई हजार ५ सय ९३ र माध्यमिक तहका एक हजार ५ सय ४२ पदमा दरबन्दी रिक्त रहेको विवरण आयोगलाई बुझाएको हो।

केन्द्रले शिक्षक बढुवाका लागि पनि प्राथमिक तह पहिलो श्रेणीमा ४ सय ५२ र प्राथमिक तह द्वितीय श्रेणीमा एक हजार ६ सय ९३ पदमा सिफारिस गरिसकेको छ।

त्यस्तै निम्न माध्यमिक तह पहिलो श्रेणीमा ७८ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा ४ सय ७८ जनाको तथा माध्यमिक तह पहिलो श्रेणीमा १ सय २४ र माध्यमिक तह द्वितीय श्रेणीमा ४ सय ८४ जना शिक्षकको बढुवाका लागि सिफारिस गरिएको छ।

यसअघि केन्द्रले शिक्षकहरुको स्थायी पदपूर्तिका लागि रिक्त दरबन्दीको विवरण पठाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको थियो।केन्द्रले पठाएको विवरणका आधारमा आन्तरिक तयारी पूरा गरेर मात्र विज्ञापन गर्ने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए।