दिपक के श्रेष्ठः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभा बैठकमा माफी मागेका छन् ।
आफ्नो विगतमा अभिव्यक्तिले राष्ट्रिय सभा सदस्यहरुको भावनामा चोट पुगेको महशुस भएको बताउँदै उनले माफी मागेका हुन् । मन्त्री गुरुङले आफ्नो अभिव्यक्तिको शैली सच्याउने प्रतिवद्धतासमेत व्यक्त गरे ।
मन्त्री गुरुङले भनेका छन् ‘मेरो जिब्रो सोझो छ, सिधा छ, घुमाउरो छैन । मैले कुनै माननीयको अपमान गर्ने ढङ्गले बोलेको छैन । मेरो मनमा एकरति पनि छैन । तर, विगतको छलफलमा मैले जे–जे शब्दहरु प्रयोग गरेँ, उखान टुक्काहरु हाले, विभिन्न जे–जे खालको बिम्बहरु प्रयोग गरेँ । त्यसले तपाईँहरुको भावनामा चोट पुग्यो भन्ने फिल भयो अहिले तपाईँहरु बोल्दाखेरि । म आफ्नो यो शैलीले गर्दा तपाईँहरुलाई चोट लागेछ भने शैली सच्याउने प्रतिवद्धता जाहेर गर्छु ।’
नेपाली राजनीति ‘बहुदलीय व्यवस्था’मा आधारित भएकाले जनमतका आधारमा सत्ताप्राप्तीको बाटो खुल्छ । जनाधार बलियो बनाउन दलहरुले उत्तरदायी भुमिका खेल्दै आम जनमानसको विश्वास जित्नुपर्छ । जसले दलको गरिमा बढाउँदै विश्वसनीयताको जगमा सफलता प्राप्त गर्छन् ।
यद्यपि, एक दलले अर्काे दलको जति उछितो काड्न सक्यो त्यति सफलता र विश्वसनीयता प्राप्त हुन्छ भन्ने भ्रममा रहेका नेताहरु प्रायः असभ्य र अमर्यादित शब्द प्रयोग गर्दै आफ्नो आङबाट छारो उडाइरहेका देखिन्छन् ।
कसैमाथि असभ्य भाषाको प्रयोग गर्दा उक्त व्यक्तिको चेतना र ज्ञानको स्तर त झल्किन्छ नै उसको पार्टीसमेत बदनाम हुने तथ्यलाई स्वयंले बुझ्न नसक्दाको परिणाम व्यवस्थामाथि नै परिरहेको छ । यसैबीच, मन्त्री गुरुङले राष्ट्रियसभाको बैठकबाट माफी माग्दा राजनीतिमा संस्कारले स्थान पाउने आशा गर्न सकिन्छ । तर, उनैका शीर्ष नेता एवं प्रधानमन्त्री केपी ओली यसका प्रमुख जिम्मेवार पात्र हुन् ।
प्रधानमन्त्री ओलीले नै असभ्य र अमर्यादित शब्दहरुको बढी प्रयोग गर्दै आएका छन् । जसको प्रभाव पार्टीका अन्य नेतामाथि परेको छ ।
प्रधानमन्त्रीले कुनैपनि भाषणको सुरुवात उखान हाल्दै व्यंग्यात्मक शैलीमा प्रतिपक्षमाथि घोचपेचबाट सुरु गर्छन् । आफै जान्ने सुन्ने पल्टने उनको शैली र हाउभाउले समर्थकलाई हौस्याउने गरेपनि अन्य दललाई भने होच्याउने शैलीको रहेको पाइन्छ । स्पष्ट भन्दा प्रधानमन्त्रीको बोलीचाली निकै छुद्र छ । उनले प्रयोग गर्ने उखान टुक्का सारगत हुनुको साटो समकक्षी नेताको हुर्मत लिने खालको पाइन्छ ।
एकपटक प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच ‘नाटकै हो’ र ‘नौटंकी नै हो’ भन्दै चलेको जुहारी आम नेपालीकोे मस्तिष्कमा ताजै हुनुपर्छ । सबै विषयमा ज्ञाता पल्टदा प्रधानमन्त्रीले उटपट्याङ् बोल्ने गरेको नेपथ्यमा रहेका विज्ञहरुले बुझिरहेका हुन्छन् । थोरै तथ्यको जगमा विषयवस्तुमाथि अतिरञ्जना गरिएका प्रशस्तै उदाहरण छन् ।
यसको मतलब वर्तमान राजनीतिमा केवल ओलीमात्र भाषण र बोलिचालीमा कमसल शब्दको प्रयोग गर्छन् भन्न खोजिएको होइन, अन्य दलका शीर्ष नेता र युवानेतामासमेत यो रोग रहेको छ । नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि बहुदल आएपछि ‘माले, मशाले, मण्डले उस्तै हुन्’ भन्दै निम्न र घटिया शब्दको प्रयोग गरेका थिए । जसले ०४६ को आन्दोलनमा सँगै हातेमालो गरेको संयुक्त वाममोर्चामाथि मानमर्दन भएको थियो । जसलाई हुर्काउने, बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेका छन् ।
पुराना नेताहरुको आलोचना गरिरहँदा नयाँ भनिएकाहरुको शैली पनि तारिफयोग्य छैन । काठमाण्डौंका मेयर बालेन साह (बालेन) हुन् वा धरानका हर्क साम्पाङ राई, उनीहरु यदाकदा झनै घृणित शब्दबाण प्रयोग गर्छन् । बालेनको ‘सिंहदरबार जलाउने’, ‘टुकुचामा गाड्ने’ अभिव्यक्तिलाई जति आलोचना गरेपनि कम हुन्छ । धराने मेयर हर्क अझ छाडा र लापर्वाह सुनिन्छन् ।
नेतागणले जति विपक्षीलाई गाली गर्दै जान्छन् त्यति नै तालीको पर्रा छुटाउने कार्यकर्ता र शुभचिन्तक पनि नेपाली राजनीतिक संस्कार कमजोर बनाउने धमिरा हुन् । शीर्ष नेताका सल्लाहकारले कस्तो भूमिका निभाइरहेका छन् भन्ने प्रश्न पनि हो उनीहरुको शब्द चयन र प्रस्तुतीकरण । बोल्ने र भन्ने विषयको भेद छुट्याउन नसक्ने कमजोरी प्रायः सबै दलका नेतामा पाइन्छ । धेरै बोल्ने तर थोरै भन्ने रोगबाट ग्रसित छन् प्रायः नेताहरु । हुनत आफ्नो ‘राम्रो’ नभएपछि अरुको ‘नराम्रो’ खोतल्नुको शायद विकल्प पनि नभएर हो कि !
भाषाको स्तरले कुनैपनि व्यक्तिको ज्ञान, चेतनाको स्तर, समाजप्रतिको बुझाईसँगै बौद्धिकताको तह पनि झल्काउँछ । कसैलाई बद्नाम गर्न बोलिने शब्दले स्वयंलाई झन् बढी पत्रु बनाउँछ । शीर्ष नेताहरुले बोल्ने कमसल शब्दले राजनीति र व्यवस्थालाई हेर्ने नजर नै नकारात्मक बनाउँछ । जसको परिणाम अहिले देखिँदैछ ।
यसैबीच, उनै ओलीका विश्वासपात्र गुरुङले माफी मागेपछि उनी सुध्रने विश्वास गर्न सकिन्छ । तर, के प्रधानमन्त्री ओलीले आफ्नो बोली सुधार्लान् त ?