दिपक के श्रेष्ठः गत फागुनको २३ गते पोखरको सृजनाचोकमा साइमन पार्टी प्यालेस सञ्चालन गरिरहेका विनोद पौडेल नयाँ पार्टी हल निर्माणमा व्यस्त थिए ।
निर्माण सामग्रीको जोहोसँगै कामदारलाई निर्देशन दिँदै पार्टीहलमा सेवा दिन साझेदारसँगै पौडेल पनि खटिइरहेकाबेला एक्कासी नेपाल प्रहरीको समूह नै त्यहाँ प्रवेश ग¥यो । के–कसो भन्ने बुझ्न नपाउँदै प्रहरीले नै नरम शैलीमा कुराकानी थाल्यो ।
समूहमा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबाबु ओलिया र वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सन्तोष निरौलालगायत थिए ।
त्यसपछि उनले बुझे, प्रहरी त उनलाई आफ्नो सेवाबारे कत्तिको सन्तुष्ट छन् भनि बुझ्न आएका रहेछन् ।
माघ १४ गते पार्टी प्यालेसबाट १४ लाख रुपैयाँ चोरी भएको थियो । स ञ्चालक पौडेलले भोलीपल्ट जिल्ला प्रहरी कार्यालय कास्कीमा त्यसबारे जानकारी गराएका थिए । फलस्वरुप, प्रहरीले उजुरीको आधारमा १५ गते संदिग्ध मानिएका इश्वर र पूजा श्रेष्ठलाई बुटवलबाट पक्राउ गरेको थियो ।
प्रहरी प्रमुख ओलियाले दोषि पक्राउपछि चोरिएको रकम पाए/नपाएकोमात्र सोधेनन्, प्रहरीले न्याय सम्पादनमा खेलेको भूमिकामा सन्तुष्ट रहे/नरहेकोसमेत सोधे ।
सोहीक्रममा प्रहरीले सुरक्षाको उपाय अपनाउन, प्रहरीसँग बिनाहिच्किचाहट संवाद गर्न र शंका लागेका व्यक्ति वा सूचना जानकारी गराउन सुझाव दिएको पौडेलले बताए ।
‘पीडितकै दैलोमा आएर, कुराकानी गर्दै सुरक्षा सावधानी अपनाउन सुझाउने र न्याय सम्पादनमा हाम्रो अपेक्षाबारे सोधेकोमा खुशी लाग्यो’ पौडेल भन्छन् ‘समाजमा प्रहरीप्रति अझैपनि नजानिँदो डर रहेको छ, यस्ता कामले प्रहरी र नागरिक दुबैको हित हुने बुझेको छु ।’

पीडितसँग सम्वादको थालनी गर्दा प्रहरी उत्साहित र थप जिम्मेवार बनेको छ’ प्रहरी उपरीक्षक ओलिया भन्छन् ‘पीडितहरुले सुरक्षाको प्रत्याभूत गरेका छन् जसले प्रहरीप्रति झनै विश्वास बढ्ने आशा गरेको छु ।’
विशेषतः फौज्दारी मुद्दाको हकमा पीडितहरुले असुरक्षित महशुस गर्ने पाइएकाले पीडित भेटघाट कार्यक्रम सुरु गरिएको ओलिया बताउँछन् ।
‘हामीले आफ्नो भन्दा पीडितका कुरा उहाँहरुसमक्ष गएर सुन्ने परम्परा बसाउँदैछौं, यस्तो कार्यक्रम अब निरन्तर गर्नेछौं’ प्रमुख ओलियाले भने ।
पीडित भेटघाट अभियानमा प्रमुख ओलियाका सारथि हुन् वडा कार्यालय बैदामा डिएसपी निरौला ।
निरौलाका अनुसार पीडितलाई स्वयं भेटघाट गरेर न्यायिक प्रक्रियामा विश्वस्त पार्ने आइडिया फुरेपछि उनले जिल्लामा अभियानका प्रस्ताव लगेका रहेछन् । उक्त प्रस्तावलाई प्रमुख ओलियाले प्रभावकारी हुने ठानेपछि अभियान सुरु गरिएको हो ।

लागुपदार्थ दूव्र्यसन, घरेलु हिंसाजस्ता अपराधमा संलग्नबाट पीडितहरु झनै पीडामा रहेको पाइएको निरौलाको अनुभव छ ।
‘भेटघाटकैक्रममा एक पीडित महिलाले पीडकबाट झनै बढी खतरा महशुस गरिरहेको पाइयो’ निरौलाले भने ‘हामी पुगेर कुराकानी गरेपछि उनी मानसिकरुपले बलियो देखिइन् ।’ पीडितले प्रहरीबाट यस्तो भेटघाटको अपेक्षा नगरेको बताउँदै त्यसपछि उनी ढुक्क र प्रहरीसँग विश्वस्त भएको पाइएको उनले सुनाए ।
‘प्रहरीको यस्तो अभ्यास नेपालमै पहिलो हो वा पोखरामा ?’ भन्ने प्रश्नमा निरौला भन्छन् ‘नेपालमा यस्तो अभ्यास भएकोबारे थाहा भएन तर पोखरामा भने पहिलो हो ।’
पीडित पक्षलाई भेटघाट गरी व्यक्तिगत सुरक्षा, पीडक पक्षबाट हुने सम्भावित दवाब, न्यायिक प्रणाली प्रतिको आस्था तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडितले प्राप्त गर्ने बिभिन्न अधिकारका बारेमा जानकारी गराउने अभियानको उद्देश्य रहेको छ ।
तस्बिर सौजन्यः जिप्रका, कास्की