पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु, दुई खेल जित्दै गण्डकी सेमीफाइनलमा

santan ads

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा आइतबारदेखि राष्ट्रिय ह्यान्डबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन घरेलु टोली गण्डकीले दुई खेलमा जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

गण्डकीले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा सुरु गरेको हो ।

प्रतियोगिताको पहिलो दिन कुल चार खेल सम्पन्न भए । पहिलो खेलमा गण्डकीले सुदुरपश्चिमलाई ३५–१७ गोलले पाखा लगायो ।

गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ गोल गरे ।

यस्तै सुदुरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल गरे । दोस्रो खेलमा एपिएफले लुम्बिनीमाथि ३०–९ को फराकिलो जित निकाल्यो । एपिएफका लागि नितेश धिमालले ५ गोल गरे भने लम्बिनीका लागि मनोज थारुले ५ गोल गरे ।

तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को अन्तरले पाखा लगायो ।

गण्डकीका लागि प्रलेश गुरुङले १२ गोल गरे । यो जितसंगै गण्डकी एक खेल अघि नै सेमीफाइनलमा प्रवेश गरेको हो । यस्तै चौथो खेलमा कोशीले सुदुरपश्चिमलाई २२–१९ ले हरायो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलाडी विमा, खेलकुदमा पदक लगायत विषयमा कार्यविधि बनाइ खेलाडी तथा खेलकर्मीको सम्मान गर्ने उदेश्यका साथ अघि बढेको सुनाए । दक्षिण एसियाली ह्यान्डबल संघका उपाध्यक्ष तेज गुरुङले अब विस्तारै ह्यान्डबलका गतिविधिहरु अघि बढ्ने सुनाए ।

प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको छ ।

लिग कम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्याण्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।

Scroll to Top