दिपक के श्रेष्ठः पोखराभित्र सार्वजनिकस्थलमा रहेका वर पिपलका चौतारा ठुट्याउनेलाई कारवाहीको दायरामा ल्याउने तयारी थालिएको छ ।
पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यसग आज सरोकारवालाले छलफल गरेपछि कारवाही प्रक्रिया अघि बढ्ने विश्वास गरिएको छ ।
यसअघि वातावरण संरक्षणका लागि महाअभियान कास्कीले महानगरको पर्खालमा ब्यानर टाँसेर सम्बन्धित निकायलाई खबरदारी गरेपछि आज महानगरमा छलफल भएको हो ।
छलफलपछि प्रतिक्रिया दिँदै महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले महानगरको पर्खालमा ब्यानर टाँसेर दबाब दिएपछि मेयर आचार्यलगायतसँग छलफल भएको बताए ।
छलफलमा डिभिजन वन कार्यालयमार्फत कारवाही प्रक्रिया अघि बढाइने पौडेलले जानकारी दिए ।
‘डिभिजन वन कार्यालयलाई अनुसन्धान अधिकृतिको जिम्मेवारी दिइएको छ’ पौडेलले भने ‘अब दोषिलाई कारवाही हुनेमा हामी विश्वस्त छौं ।’
कानूनमा ठ्याक्कै कस्तो कारवाही हुने उल्लेख नभएकाले हालसम्म अन्योलको स्थिति रहेको बताउँदै अब वन तथा वातावरण मन्त्रालयको सुझावअनुसार वन कार्यालय अघि बढ्नेको उनको भनाई छ ।
‘हाम्रो काम ध्यानाकर्षण गराउने, खबरदारी गर्ने हो, सम्बन्धित निकायले प्रक्रिया सुरु गर्ने छलफलको निष्कर्ष छ’ थापाले सुनाए ।
मानव सेवा फाउण्डेशले कोटिहोमका नाममा पोखरा महानगरपालिका वडा नम्बर १३, १४ र ६ मा वर पिपल, शमिलगायतका रुख ठुट्याएपछि महाअभियानले खबरदारी सुरु गरेको हो ।