नयाँलिपिः लेखक, प्राध्यापक, आर्थिक एवं सुरक्षा सल्लाहकारलगायत विविध छवि बनाएका महेन्द्र पी लामाले सिमानाका रोचक एवं डरलाग्दा किस्सा सुनाएका छन् ।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको उद्घाटन सत्रका वक्ता लामाले ‘सीमा, सम्बन्ध र साहित्य’ विषयक विधामा विद्वत् प्रवचन दिँदै सिमाना कतै प्रकृतिको त कतै प्रहारको भएको उल्लेख गरे ।
‘हामीबीच कतै, हिमाल, लेकाली फूल र प्रकृतिको सिमाना छ कतै, खोला, नदीहरुको’ उनले भन्दै गए ‘कतै बम र बारुद अनि कुनैपनि बेला सुरु हुने गोलाबारीको सिमाना छ ।’ भारतको सिमानामा कतै युद्ध त कतै झोपडपट्टी रहेको सुनाउँदै उनले खुला सिमानाको पनि चर्चा गरे ।
दक्षिण एसियाको सिमानामा रहेको विविधताबारे उनले रोचक भनाई राखेका थिए । ‘बर्मा र भारतबीच झोपडीको सिमाना छ, पाकिस्तानसँगको सिमानामा युद्ध छ’ उनले सुनाए ।
कतै आफ्नै सुरमा हिडिरहँदा एक्कासी अर्कै देशमा पुग्न सकिने उनले बताए । भारतको मिजोरममा यता भात पकाउने कोठा र उता सुत्ने कोठा रहेको सुनाउँदा सहभागी चकित भएका थिए ।
यसमा थप रोमाञ्चकता त त्यतिबेला थपियो, जब उनले थपे, ‘नेपालको पशुपतिनगर र भारतबीचको सिमाना त एउटा नाली हो, एक फड्कोमा भारत नेपाल हुन्छ । तर यति सजिलोमात्र नभएर भारत पाकिस्तानबीचको सिमाना युद्धले तताइरहने सीमा भएको सुनाए ।
सिमानाले. राम्रा र नराम्रा दुबैखाले सम्बन्ध बनाइरहेको भन्दै उनले यहीबाट साहित्यसमेत जन्मिने गरेको बताए । ‘सिमानामा युद्ध र युद्धमा भोक, शोक, जय र पराजयका साहित्य रचिएका छन्’ उनको भनाई छ ।
नालापानीको युद्धमा पनि साहित्य जन्मिएको बताउँदै उनले बलभद्रले लडाइको किल्ला थेग्न नसकेपछि निस्केर जानुभन्दा पहिला सिपाहीहरुले भोक र प्यासले सताएको र अंग्रेजको प्रहार धान्न नसकेको रचनामार्फत सुनाएको प्रसंग निकालेका थिए ।
विश्वयुद्धका दौरान जापानमाथि भएको आक्रमणमा पनि साहित्य जन्मिएको उनले सुनाए । त्यस्तै, सिमानामा द्वन्द्वमात्र नभएर विकास, सहयोग र सम्भावनाले पनि उत्तिकै स्थान पाइरहेको भन्दै उनले युद्धलाई छाडेर हेर्दा सिमाना राष्ट्रप्रतिको प्रेम भएको बताए ।