भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा सरकारले कूटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ ।
उक्त विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो ।
उनको मृत्युलाई लिएर नेपाली विद्यार्थीले निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।
विरोधपछि नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको थियो । सोही घटनाक्रमलाई लिएर सरकारले बिहानैदेखि पहल गरिरहेको र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर अध्ययन गराउने पहल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त इन्स्टिच्युटमा विकसित घटनाक्रम र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको जानकारी प्राप्त हुनासाथ भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उक्त शैक्षिक संस्थाका रजिस्टार लगायत प्रतिनिधिहरूसँग छलफल गरी समस्या समाधानको पहल गरेको बताएको छ ।
शैक्षिक संस्थाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा नै बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको र मृतक प्रकृति लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको र मंगलबार नेपाली राजदूतावास नयाँ दिल्लीबाट प्रतिनिधिहरू उडिसास्थित उक्त शैक्षिक संस्थामा गई सम्बन्धित सबै निकायहरूसँग थप समन्वय गर्ने बताईएको छ ।