इङ्लिस प्रिमियर लिग फुटबल मा म्यानचेस्टर सिटीको लज्जासपद हार भएको छ । साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीलाई आर्सनलले ५–१ गोलअन्तर ले पराजित गरेको हो ।
आइतबार राति घरेलु मैदान इमिरेट्स रङ्गशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन आर्सनलका कप्तान मार्टिन ओडिगार्ड, थोमस पेर्टी, मायल्स लुइस–स्केली, काई हाभर्टज र इथान एन्वानेरीले समान १/१ गोल गरे ।
सिटीका लागि एर्लिङ हालान्डले सान्त्वना गोल फर्काए ।
खेलको दोस्रो मिनेटमै ओडिगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ५५औं मिनेटमा हालान्डले सिटीका लागि बराबरी गोल फर्काए ।
त्यसको एक मिनेटपछि नै पेर्टीले गोल गर्दा आर्सनल २–१ ले अगाडि बढ्यो । त्यसपछि स्केलीले ६२ र हाभर्टजले ७६औं मिनेटमा गोल थपे ।
यसपछि इन्जुरी समयमा एन्वानेरीले गोल गर्दै आर्सनललाई ५–१ को सहज जित दिलाए ।
आईतबार नै भएको अरु खेलमा टोटनहम हटस्पर, क्रिस्टल प्यालेस विजयी भए
आइतबारै सम्पन्न अन्य खेलमा टोटनहम हटस्परले ब्रेन्टफोर्ड तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई समान २–० ले पराजित गरे ।
लिगका पछिल्ला १४ खेलमा अपराजित आर्सनलले २४ खेलबाट ५० अङ्क जोडेको छ । पराजित सिटी समान खेलबाट ४१ अङ्कसहित चौथो स्थानमा छ ।