नयाँलिपिः अमरसिंह माविको स्वामित्वमा रहेको राजमार्ग छेउमा रहेको पुराना सटरमा नयाँ संरचना निर्माण गर्ने व्यवस्थापन समितिको निर्णयपछि व्यापारीलाई उक्त सटरहरु खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ ।
करिब ५ दर्जनको हाराहारीमा रहेका सटर विद्यालयको दक्षिणतर्फ रहेको पृथ्वी राजमार्गसँग जोडिएको छ । हाल राजमार्ग विस्तार र स्तरोन्नतीको काम भइरहेकाले उक्त सटर पनि भत्काउन सजिलो भएको विद्यालय व्यवस्थापन समितिको ठम्याई छ ।
यसअघि पनि सटर हटाउने निकै प्रयास गरेको व्यवस्थापन समितिले असफलता हात पारेपछि यसपटक राजमार्ग विस्तारलाई लिएर केही सहज ठानेको छ ।
समितिले माघ ११ गते बैठकमार्फत निर्णय गराई सटर खाली गर्न व्यवसायीहरुलाई ३५ दिने सूचना जारी गरेको छ । सूचनामा सटर हटाए नयाँ व्यापारिक संरचना बनाउने समितिको योजना छ । सूचनामा व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइराला र प्रधानाध्यापक शेरबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
व्यवस्थापन समिति अध्यक्ष कोइरालाले व्यवसायी, स्थानीयवासी, वडा कार्यालय, पोखरा महानगरका प्रतिनिधिबीच छलफल गरेपछि सटर खाली गर्न सूचना जारी गरिएको बताउँछन् ।
व्यवस्थापन समितिले एकतर्फी निर्णय गरेर सटर खाली गर्न लगाएको व्यवसायीको आरोपबारे अध्यक्ष कोइरालाले व्यवसायीलाई थाहा भएको बताए । ‘हामीले पटकपटक भनेका छौं, उहाँहरुको उद्देश्य जसरी पनि त्यही बसिरहने हो’ कोइरालाले भने ‘त्यसरी कतिञ्जेल हुन्छ र, सम्बन्धित सबैको समर्थनमा हट्न सूचना जारी गरिएको हो ।’
व्यवसायीहरुको सम्झौता सकिइसकेको पनि कोइरालाले बताएका छन् । सडक विस्तारकाक्रममा एकैपटक विद्यालयलाई पनि सजिलो होस् भनेर निर्णय गरेको उनले बताए । सटर हटाउने भनेर केही वर्ष यता भाडादरमा वृद्धि नगरिएको उनको भनाई छ ।
सटरबाट मासिक पौने ३ लाख रुपैयाँको हाराहारीमा भाडा उठ्ने गरेको छ । एउटा सटरको २९ देखि ४५ सयसम्म भाडा लिने गरिएको समितिले बताएको छ ।
०३० सालदेखि व्यवसाय गर्दै आएका राजेन्द्र घिमिरेले सजिलै सटर छाडेर नजाने व्यवसायीहरुको सल्लाह रहेको बताए । व्यवसायीहरुले कुनै डिपिआर वा निर्माण योजना नभएको उनीहरुको भनाई छ । माघ ३ गते निर्णय गरेर ११ गते सूचना टाँसिएको भन्दै घिमिरेले व्यवस्थापन समितिले व्यवसायीसँग समन्वय नगरिएको बताए ।
व्यापारीहरु पनि अमरसिंह विद्यालयको भलो चिताउने शुभेच्छुक भएको भन्दै उनीहरुले व्यवस्थापन समितिसँग भेट्नै गाह्रो हुने र एकपटक भेट्दा सामुहिक छलफल गर्ने भनिए पनि बैठकमा नबोलाइएको गुनासो गर्छन् ।
‘रातारात बैठक बस्नुपर्ने के बाध्यता आइलाग्यो ?’, ‘सिमांकन भयो कि भएन ?’ व्यवसायी ओम सुवेदीको प्रश्न छ ‘पिल्लरमा सूचना टाँसेर हिड्नुपर्ने विद्यालयलाई कस्तो बाध्यता आइप¥यो ?’ पहिले निर्णय कहिले–के भयो र सटर खाली गराएर त्यहाँ के निर्माण गर्ने होे त्यसको जानकारी व्यापारीले पाउनुपर्ने उनको जिकिर छ ।
‘२५ करोड रुपैयाँको लगानी ३५ दिनमा चटक्कै छाडेर जा भन्न विद्यालयजस्तो सामाजिक संस्थाले कसरी सक्छ ?’ सुवेदीले पुनः प्रश्न गरेका छन् । उनले भने ‘हामी विद्यालय र विकासको विरोधी होइनौ, तर एक शब्द नसोधी, छलफलमा नबोलाई गरिएको निर्णय हामीलाई मान्य छैन ।’
यता, विद्यालय प्रशासनले भने व्यापारिक भवन निर्माणपछि पहिलेकै व्यापारीलाई प्राथमिकता दिने बताएको छ । व्यापारीसँग कुनै सम्झौता नभएको भन्दै प्रशासनले विद्यालयले भन्दा व्यापारीले लाभ लिइरहेकाले उनीहरुले अटेर गर्नु स्वभाविक भएको जनाएको छ ।
सूचनापछि व्यापारीहरु आन्दोलनमा जाने तयारी गरिरहँदा व्यवस्थापन समिति भने अटेर गरे कानूनी कारवाहीमा उत्रिने बताइरहेको छ । समिति अध्यक्ष कोइराला भन्छन् ‘यो अन्तिम सूचना हो, महानगर र प्रहरीमार्फत भएपनि खाली गर्छाै ।’