सहाराको ‘आहा रारा गोल्डकप’मा जोडियो दृष्टि हस्पिटल

santan ads

नयाँलिपिः नयाँबजारस्थित दृष्टि आँखा हस्पिटल र सहारा क्लबबीच आइतबार औपचारिक सम्झौता भएको छ ।

सम्झौता अनुसार अब हस्पिटलले सहाराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’लाई वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्नेछ । साथै, गोल्डकपका दौरान खेलाडीलाई हुने कुनैपनि आँखासम्बन्धी चोटपटकको प्राथमिक उपचारको जिम्मा हस्पिटलको हुनेछ ।

सम्झौतामा हस्पिटलले सहाराको फुटबल एकेडेमीमा रहेका बालकहरुकोसमेत निशूल्क आँखा जाँच गर्ने उल्लेख छ । हस्पिटलले प्रतियोगिताका दौरान खेलाडीको उपचारार्थ रंगशालामा स्टल राख्ने बताइएको छ ।

सम्झौतापत्रमा क्लबका अध्यक्ष केशवराज बराल र हस्पिटलका अध्यक्ष शिव पोखरेलले हस्ताक्षर गरेको क्लबका पूर्वअध्यक्ष विक्रम थकालले जानकारी दिए ।

सम्झौतापछि हस्पिटलका अध्यक्ष शिव पोखरेलले खेलमार्फत सामाजिक सेवामा जोडिन पाएको भन्दै हस्पिटलले आँखासम्बन्धी गूणस्तरीय सेवा दिइरहेको बताए ।

त्यस्तै, पूर्व अध्यक्ष थकालीले एकेडेमीका बालक र प्रतियोगिताका दौरान हुने आँखासम्बन्धी समस्याको उपचारमा दृष्टीको सहयोगप्रति आभार व्यक्त गरे ।

सम्झौताबीच पूर्व अध्यक्ष विक्रम थकाली, प्रतियोगिताको अर्थ संकलन उपसमिति संयोजक एवं क्लब सल्लाहकार सुनिल गुरुङलगायत उपस्थित थिए ।

क्लबले पोखरा १७, दोबिल्लामा संचालन गरेको स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा चौंथो ब्याचका रुपमा हाल ३० जना बालकहरु आश्रित छन् । क्लब अध्यक्ष बरालले २४ औं आहा रारा पोखरा गोल्डकपको मिति नजिकिँदै जाँदा क्लबको पवित्र कार्यमा सहयोगी हातहरु पनि बढेको भन्दै प्रसन्नता व्यक्त गरे ।

क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आयोजना गर्ने प्रतियोगिताको तयारी तीव्र पारेको छ ।

Scroll to Top