सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताए ।

सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको सुनाए ।

धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गरे ।

‘संस्थालाई कानुन बमोजिम सञ्चालन गरी समाजको आचारसंहितालाई अंगिकार गर्दै सामाजिक मूल्य मान्यतालाई अनुशासितरुपमा आत्मसात गर्दै उद्देश्य अनुरुप अघि बढ्नुपर्ने हुन्छ । यसरी नै सामूहिक एकता र प्रयासले समाज र राष्ट्रको उत्थान सम्भव छ ।’ प्रदेश प्रमुख भट्टले भने ।

छिमेकी बागमती प्रदेशको धादिङ जिल्लादेखि पोखरामा आएर बसोबास गर्ने करीब ४० हजार धादिङबासीसँग जोडिएको यो अभिभावकीय संस्थाले सामाजिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

‘धादिङ जिल्ला विशेषगरी कृषिबाट परिचित रहेको छ । यहाँसम्म धादिङका कृषि उब्जनी, तरकारी आइपुग्छन् ।

पोखराको भान्साभान्सासम्म धादिङबासीको मेहनत पुगेको छ ।’ उनले भने– ‘यहाँ मजदुरदेखि माथिल्लो तहसम्म धादिङबासीले सेवा गरिरहेको पाएको छु ।

अन्तर जिल्ला समाजमध्ये पहिले स्थापित धादिङ पोखरा समाज आफ्नो सामाजिक कार्यकै कारण यहाँको अग्रणी समाज बन्न सकारात्मक सहयोग पुगेको हुनुपर्छ ।’

धादिङका विभिन्न ७ वटा विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको समाजले नियमित रुपमा रक्तदान कार्यक्रम, भित्तेपात्रो प्रकाशन, शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान, वृद्धाश्रममा सहयोग प्रदान लगायतका कार्यक्रम गर्दै आएको जानकारी पाउँदा खुशी लागेको बताए ।

उनले भने – ‘समाजका सदस्यहरुका परिवारमा जन्म, विवाहदेखि मृत्यु संस्कारसम्मको आपसी मिलापले जन्मस्थानबाट टाढा हुँदा पनि छरछिमेक सँगै भएको अनुभूति पक्कै भएको हुनपर्दछ ।

दुर्घटनामा परेका तथा गम्भिर बिरामी परेका सदस्यहरुलाई अस्प्तालमा स्वास्थ्य उपचारमा छुटको पहलदेखि आर्थिक संकलनमा पनि समाज जुट्दै आएको पाएँ । सुख र दुःखमा सँगसँगै जिल्लाबासी अघि बढ्नु खुशीको विषय हो ।

Scroll to Top