पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टिम पोखरा एभेन्जर्सले आज पोखरा रंगशालास्थित क्रिकेट मैदानमा डगआउट (ब्याट्सम्यान कक्ष) हस्तान्तरण गरेको छ ।
उक्त अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)का प्रतिनिधि वरिष्ठ प्रबन्धक रोहित पोद्दार र प्रवद्र्धन अधिकृत मोहम्मद अनिमुल स्लामलाई स्वागत गर्दै आगामी दिनमा आइसीसीबाट नेपाली क्रिकेटलाई सहयोग हुने अपेक्षा गरे ।
साथै, मेयर आचार्यले पोखराले अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने अवसर पाए महानगरले क्रिकेट स्टेडियमको सम्पूर्ण पूर्वाधार तयार पार्ने प्रतिबद्धता जनाए । उनले एनपीएलमा एभेन्जर्सलाई जीतको शुभकामना दिँदै सकेसम्म घरेलु टिमलाई काठमाण्डौंमै गएर समर्थन गर्न अनुरोधसमेत गरे ।
पोखरा एभेन्जर्सका व्यवस्थापक किरण शम्सेर राणाले पोखरेलीहरुको अपार मायालाई जीवन्त राख्न मायाको चिनोस्वरुप डगआउट उपहार दिएको उल्लेख गरे । बुधबार टिम काठमाण्डौं प्रस्थान गर्ने बताउँदै उनले टाइटल भित्र्याउने दाबीसमेत गरे ।
हस्तान्तरणपश्चात क्रिकेट संघका अध्यक्ष चन्द र आइसीसी प्रतिनिधिसँग प्रश्न सोध्न चाहेका पत्रकारलाई भने चन्दले पछि आफै खबर गरेर भेटघाट गर्ने वचन दिए । चन्दका अनुसार आइसीसीका प्रतिनिधि २ दिन पोखरा रहनेछन् ।