पोखरा फ्री बस जोन

-


     नयाँ लिपि    
     असाेज २६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा आज फ्री बस जोन हुने भएको छ । बसमा सवार गर्दा भाडा तिरिरहनु पर्ने झन्झट कम्तिमा पनि आजको लागि टरेको छ । नेपाली हिन्दुहरुको महान चाँड बडादशैंको टिकाको दिन आज पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका, स्थानिय प्रशासन र यातायात व्यवसायीहरुको सहकार्यमा पोखरामा दशैंको टिकाको दिन आज पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

उनका अनुसार पोखराका विभिन्न ७ वटा रुटमा ४ वटा कम्पनीका १८ वटा बसहरूले निःशुल्क सेवा दिनेछन् ।

बस विहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क सञ्चालन हुने प्रजिअ पाण्डेले जानकारी दिएको हो ।

नि:शुल्क चल्ने रुट

आज दिनभरी कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म, लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो कि.मी.हुँदै लेकसाईडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । त्यसरी सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने उनले बताए ।

यात्रुको चाप हेरेर आवश्यक्ता अनुसार रुट, समय र गाडीसमेत थपिने कास्कीका सहायक प्रमुख जल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।