पोखरासहित ८ क्रिकेट रंगशाला निर्माण गरिने, तीन महिनाभित्रै प्रक्रिया शुरु – बालेन

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

सरकारले एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारेको हो ।

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ ।

प्रस्तावित योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला निर्माण गरिनेछ ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएको छ ।

एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेपछि सरकारले क्रिकेट पूर्वाधार निर्माणको योजना सार्वजनिक गरेको हो ।

सरकारले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आफू तयार रहेको जनाएको छ । प्रस्तावित योजना कार्यान्वयन भए एनपीएलका आगामी संस्करणमा क्लबहरूले आफ्नै घरेलु मैदानमा खेल सञ्चालन गर्न पाउनेछन् ।

Scroll to Top